Logo

महाभियोगले गठबन्धन झन् बलियो हुन्छः प्रचण्ड



काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्ताव संसदको गतिरोध हटाउनका लागि ल्याइएको बताएका छन् । उनले जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा महाभियोगले गठबन्धन झन् बलियो हुने तर्क गरे ।

‘महाभियोग लगाएर गठबन्धन भत्कने होइन बरु झन् बलियो हुन्छ,’ महाभियोगबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने । उनले न्यायालयको बेथिती र गतिरोध अन्तका लागि गठबन्धनमा सहमति गरेर महाभियोग लगाइएको तर्क गरे ।

जनयुद्ध दिवसको कार्यक्रममा प्रचण्डले गठबन्धन भत्काउने षड्यन्त्र निरन्तर चलिरहेको बताए । ‘जेठ ५ देखि नै गठबन्धन तोड्ने षड्यन्त्र निरन्तर चलिरहेको छ,’ प्रचण्डले भने । १२ बुँदे समझदारी नरुचाएका, संविधान, लोकतान्त्रिक गणतन्त्र नरुचाएकाहरुले निरन्तर गठबन्धन तोड्ने षड्यन्त्र गरिरहेको बताए ।

अहिलेसम्म प्रतिक्रियावादीको षड्यन्त्र चलिरहेको भन्दै निर्णायक लडाईं बाँकी नै रहेको बताए । उनले संविधानको रक्षामा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्