Logo

ओलीले बोलाए कोर टिमको बैठक, चार न्यायाधीशविरुद्ध भोलि महाभियोग दर्ता गरिने



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजै बेलुका बस्नेगरि कोर टिमको बैठक बोलाएका छन् । आजमात्रै एमालेको संसदीय दलको बैठक बसेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेपछिको उत्पन्न परिस्थितिको बारेमा ठोस समिक्षा गर्ने भनेर बोलाईएको संसदीय दलको बैठकले आवेग र उत्तेजनामा आएर निर्णय नलिने भनिएको थियो । तर, अध्यक्ष ओलीले आजै साँझ आफ्नो निवासमा पार्टीका शीर्ष नेताहरुलाई छलफलको लागि बोलाएको खुलेको छ। स्रोतका अनुसार एमालेले परमादेश जारी गर्ने चार जना न्यायाधीशहरुविरुद्ध भोलि (मंगलबार) जुनसुकै बेला महाभियोग दर्ता गर्ने तयारी गरेको छ । यसको लागि सांसदहरुको हस्ताक्षरसमेत संकलन भैसकेको छ ।

एमाले उच्च स्रोतले भन्यो,‘पार्टी अध्यक्षले आफ्नो कोर टिमका नेताहरुलाई आज साँझ बोलाउनुभएको छ, परमादेश जारी गर्ने न्यायाधीशहरुविरुद्ध महाभियोग दर्ता हुन्छ, सबै कुरा तयारी अवस्थामा छ ।’ एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पनि महाभियोग लगाउने चर्चा छ । तर, केही सांसदहरुले भने अहिले चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्न नहुने धारणा राखेका थिए । संसदीय दलको बैठकमा सांसदहरुको राय बाझिएपनि अध्यक्ष ओली भने काउन्टर महाभियोग लगाउनेगरि अघि बढिसकेका छन् ।

एमालेले प्रधानन्यायाधीश जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ । एमाले सांसदहरूको धारणा सुनेपछि दलका अध्यक्ष ओलीले जबराविरुद्धको महाअभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताएका थिए । कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

‘आजको बैठकमा सांसदले धारणा राखेपछि अध्यक्ष ओलीले जबरामाथिको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरताको रुपमा रहेको बताउनु भयो,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । जबराविरुद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

‘महाअभियोगको प्रस्ताव जुन बेला आएको छ । त्यसलाई हेर्दा तीन कारण देखिन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ ।’

यद्यपि, प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ । बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, झपट रावल, विमला विश्वकर्मासहितका सांसदले धारणा राखेको र उनीहरू महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टी स्पष्ट धारणा आउनुपर्ने बताएका भट्टराईले जानकारी दिए ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/293106882810381

https://www.facebook.com/RishiDhamalaOfficial/videos/524843112188606



प्रतिक्रिया दिनुहोस्