काठमाडौं, ४ फागुन । एमसीसी पारित गर्ने वातावरण बनाउन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब समय खेर नफाल्ने भएका छन् । उनले ५ फागुन भोलि अपरान्ह गठबन्धनको बैठक डाकेर एमसीसीमा के गर्ने हो स्पष्ट धारणा लिने भएका छन् । त्यसपछि उनी एउटा निर्णयमा पुग्ने बुझिएको छ ।
बालुवाटार अब एमसीसी रोक्नकै लागि प्रचण्ड र माधव नेपाल लागेको निष्कर्षमा पुगिसकेको बुझिएको छ । प्रचण्डले सिधै पार्टीबाट निर्णय गराएर एमसीसी पारित गर्न देउवा अगाडि बढ्न खोजे गठबन्धन छाड्ने चेतावनी दिएका छन् । यसबाट देउवा अब नपर्खने कठोर निर्णय लिन परे बढ्ने तयारीमा पुगेका छन् ।
अब देउवा सामु एमसीसी अगाडि नबढाउने या गठबन्धन तोडेर जानुको विकल्पबाहेक छैन । गठबन्धन तोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ गठबन्धन बनाउनेतर्फ पनि देउवा सोझिएको बुझिएको छ ।
ओलीसँग गठबन्धन बनाएमा एमसीसी अगाडि बढाउन सबैभन्दा पहिले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव लानुपर्ने वाध्यकारी अवस्था हुनसक्छ । सभामुख सापकोटा एमसीसी टेबल नगर्ने पक्षमा छन् । उनलाई हटाउन दुई तिहाई मत चाहिन्छ । काँग्रेसको ६१ र एमालेको ९७ मतले दुई तिहाई पुग्दैन । एमालेमा भीम रावल एमसीसीविरोधी भएकाले केही सांसदसहित विद्रोह गर्न सक्छन् ।
जसपाभित्र पनि एमसीसीबारे मतभेद छ । १८ सांसद रहेको जसपामा एमसीसीसँग जोडिएको सभामुखको विषयमा मतभेद हुनसक्छ । लोसपा एमसीसीको पक्षमा छ । सभामुखमाथि देउवा र ओली मिलेर हटाउने प्रस्ताव लाने जोखिम उत्तिकै छ ।
६ फागुनमा संसद अधिवेशन डाकिएको छ । उक्त दिन एमसीसी टेबल गर्ने तयारीमा देउवा छन् । त्यस अगावै उनले कुनै ठूलो कदम चाल्न सक्ने बुझिएको छ । अब उनीसँग गठबन्धनबारे निर्णय गर्ने ४८ घन्टाको समय रहेको भन्दै निकटस्थले सुझाव दिएको विश्वस्त स्रोतले बताएको छ । अबको ४८ घन्टाभित्र देउवाले एमसीसीलाई वार कि पार गर्ने गरी निर्णय लिने भएका छन् ।-File Photo