काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चारजना मन्त्रीहरुसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग एमसीसीको बारेमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
आगामी फागुन ६ गने सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक बोलाएका छन् । यसअघि ५ फागुन दिउसो ३ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। आजको छलफलमा फागुन ६ गते संसदमा एमसीसी पेश गर्नेबारे रणनीति बन्ने जनाइएको छ ।
प्रधानमन्त्री कुनैपनि हालतमा अब बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने पक्षमा पुगेका छन् । आजकै संसद् बैठकमा एमसीसी टेबुल हुने जनाईएको थियो । तर, सत्ता गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) को कारण आज एमसीसी टेबुल हुनबाट रोकिएको छ ।
माओवादी केन्द्रले एमसीसी अहिलेकै अवस्थामा टेबुल गरिए विपक्षमा उभिने र तत्कालै सरकार छोड्नेसम्मको निर्णय गरेको छ । पार्टीको संसदीय दलको बैठकमा उक्त निर्णय गराएर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो लगत्तै प्रधानमन्त्री देउवाले आजको बैठकमा एमसीसी टेबुल नगर्ने सहमति जनाएका थिए ।