ललितपुर, फागुन ५ । रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षौंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् ।
दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार थेग्न सक्दैनन् । केही वर्षअघि स्थान अभाव भएकाले पुल्चोकमा राखिएका आठवटा पाङ्ग्रालाई नष्ट गरिएको थियो । रथको सबैभन्दा तल प्रयोग हुने ३२ हातका मोटा काठ (धमा) पनि थन्क्याइएका छन् । जावलाखेलमा एउटा र पुल्चोकमा चारवटा पुराना धमा बेवारिसे छन् ।
रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले तयार गर्ने परम्परा छ । वाराही नाइके दिलकुमार वाराहीले पुराना पाङ्ग्रा अब काम नलाग्ने भन्दै थप्नुभयो, “त्यसलाई राख्न स्थान अभाव भइरहेको छ । ती व्यवस्थित गरिदिनू भनेर गुठी संस्थानमा निवेदन दिएका थियौँ तर निवेदनको वास्ता गरिएन ।”
पाङ्ग्रा राख्ने स्थान अभाव छ । पुराना पाङ्ग्राले स्थान ओगटेपछि जावलाखेलको टहरोमा हाल प्रयोगयोग्य रहेका चारवटा पाङ्ग्रालाई जेनतेन कोचेर राखिएको छ । टहरो पूरै बन्द नभएकाले परेको पानी पाङ्ग्रासम्म पुग्ने गरेको छ । पुराना केही पाङ्ग्रा टहराबाहिर पनि त्यत्तिकै फ्याँकिएको छ ।
पाङ्ग्राका लागि आवश्यक पर्ने सानदान जातको काठ बाराको अमलेखगञ्जबाट ल्याइने गरिएको छ । रथलाई थाम्न सक्ने र गुडाउँदा नफुट्ने हुँदा त्यस जातको काठ प्रयोग गर्ने गरिएको छ । सानदानको काठ अब दुर्लभ हुँदै गएको छ । काठ ललितपुरमा भित्र्याउन नाप जाँचदेखि वन कार्यालयको अनुमतिसम्मका प्रक्रिया पूरा गर्न कम्तीमा डेढ महिना लाग्ने गरेको छ । एक ट्रक काठबाट चारवटा पाङ्ग्रा तयार हुन्छ र ललितपुरसम्म ल्याइपु(याउँदा करिब पाँच लाख रुपियाँ खर्च लाग्ने गरेको छ ।
गुठी संस्थानको ललितपुर शाखाका अनुसार कटान गर्ने रुख टुङ्गो लागेपछि रुख पूजा गरिन्छ र चारवटा भेडाको बली दिइन्छ । रुख कटान गरी टुक्रा पारेपछि थप चारवटा भेडा बली दिइन्छ । त्यसपछि बोलक्षमा पूजा, पोचा, विश्वकर्मा आदि पूजा गरिन्छ र पाङ्ग्रा तयार गर्दासम्म २८ वटा भेडा बली दिने परम्परा छ ।
बाराही नाइके दिलकुमारले एउटा पाङ्ग्रा तयार गर्न दुई महिना लाग्ने गरेको बताउँदै भने, “२०७३ सालमा बनाइएको पाङ्ग्रालाई सुरक्षित रूपमा राख्न सके २०८२ सालसम्म प्रयोग गर्न सकिन्थ्यो भन्ने लागेको छ । त्यसैले टहराभित्रका सबै पाङ्ग्रा हटाइदिएर प्रयोगमा रहेको मात्र पाङ्ग्रा त्यहाँ राखिदिए हुन्थ्यो ।”
पाङ्ग्रा प्रायः चारदेखि पाँच वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ । २०७२ सालमा १२ वर्षे रथयात्राका अवसरमा ललितपुरको बुङ्मतीमा नयाँ पाङ्ग्रा निर्माण गरिएको थियो । १२ वर्षे रथ यात्राका बेला रथका सबै सामग्री नयाँ प्रयोग गर्ने चलन छ । त्यहाँबाट जात्रा चलाउनुपर्ने भएकाले सो एकै वर्षमा बिग्रियो । २०७३ सालमा निर्माण गरिएको पाङ्ग्रा अहिलेसम्म सुरक्षित छ र यति लामो समयसम्म कमै प्रयोगमा रहने गरेको छ । गोरखापत्र दैनिकबाट