काठमाडौँ, ५ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संसद्ले नै फैसला गर्ने बताएका छन् । आज (बिहीबार) नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको तर संसद्ले पास या फेल जे गरेपनि आफुले स्वीकार गर्ने बताएका हुन् । कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा रहन पार्टी पङ्तिहरुलाई निर्देशनसमेत दिएका थिए ।
सम्बोधन गर्दै उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली काँग्रेस भने जसरी पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’
एमसीसी पारित गर्ने या नगर्ने भन्नेमा सत्ता गठबन्धनमै सहमति जुट्न सकिरहेको छैन । जसका कारण सत्ता गठबन्धननै खतरामा रहेको छ । बुधबारको संसद बैठकमा एमसीसी टेबुल हुने भनिएतापनि नेकपा माओवादी केन्द्रको कारण हुन सकेन । अर्को बैठकमार्फत एमसीसी टेबुल गर्ने तयारी भइरहेको छ ।-Photo: RSS