काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा खरो रुपमा प्रस्तुत भए । बैठकमा सहभागी एक नेताका अनुसार देउवाले गठबन्धनका शिर्ष नेताहरुको कुरा सुने । एमसीसी टेबल गर्नु अघि नेकपा एमालेबाट भएको सदनको अवरोध हटाउने शर्त माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राखे ।
प्रचण्ड र नेपालको कुरा सुनेर देउवा कड्किए । उनले आफू पछि नहट्ने र जुनसुकै परिस्थितिमा एमसीसी टेबल गर्न बढ्ने सुनाए ।
देउवाले कम्तिमा एमसीसी टेबल गर्न दिन भने । तर, प्रचण्ड र नेपालले पहिले दलहरुमा छलफल गर्न सर्त राखे । तर, देउवा भोलि नै अगाडि बढ्ने गरी प्रस्तुत भए ।
देउवाले पेलेरै जाने संकेत गरेपछि बैठक विना निष्कर्ष टुंगियो । भोलि ९ बजे फेरि बस्नेमा सहमति बन्यो । तर, देउवा आज निकै कडा रुपमा प्रस्तुत भएकाले नयाँ परिस्थिति विकास हुनसक्ने बुझिएको छ ।