काठमाडौँ, ६ फागुन। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छिन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन् ।
उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताईन्। उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताईन्। यस्तै मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि बताईन् ।
‘एमसीसी लगायतका इस्यूहरु पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो ।
त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ’ मन्त्री झाँक्रीले भनिन् ‘ म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरु नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’-File Photo: RN