Logo

देउवा यसकारण गठबन्धन तोड्न हच्किए ?



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउनबाट पछि नहट्ने अडान छाडेका छैनन् । उनले १६ फागुनको समयसीमा नकटाउने गरी कदम चाल्ने तयारी गरिसकेका छन् ।

देउवाले ८ फागुनमा एमसीसी टेबल हुने आशा गरेका छन् । त्यसपछि छलफलमा लगेर टुंगोमा पुर्याउने उनको चाहना छ । तर, टेबल नै हुन नदिने प्रयासहरु चलिरहेको छ ।

एमसीसी टेबल हुन नदिए देउवाले कडा कदम चाल्नछन् । विकल्पमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति नै हो । तर, ओलीको सर्तहरुबाट देउवा सन्तुष्ट छैनन् । ओलीको सर्त देउवाका लागि अर्को राजनीतिक जोखिम बन्न सक्छ । जुन उठाउन तयार भएका छैनन् ।

देउवा सकभर गठबन्धन जोगाएर एमसीसी पारित गर्ने प्रयासमा छन् । माधव नेपाल लचिलो हुने संकेत गरिसकेका छन् । तर, प्रचण्डलाई लचिलो बनाउन फलामको च्युरा सावित भइसकेको छ । तैपनि देउवा प्रयासरत छन् ।

गठबन्धन तोडिहाल्दा सरकार अल्पमतमा पर्ने र प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आउन सक्छ । या त चुनावमा जानुपर्ने हुनसक्छ । त्यतिबेला ओली र प्रचण्ड मिलेमा देउवा अप्ठ्यारोमा पर्न सक्छन् । एमसीसीविरुद्ध लागेर कम्युनिस्ट पार्टीहरु एक भएमा चुनावमा धक्का पर्ने सम्भावना पनि छ । यसकारण देउवा गठबन्धन तोड्न हच्किएका छन् ।

गठबन्धन जोगाउन रामचन्द्र पौडेलले देउवालाई दबाब दिइरहेका छन् । गठबन्धन जोगाएर जाने उनको दबाब रहेपनि डा. सशांक कोइरालाले भने एमसीसी या गठबन्धन मध्ये एक रोज्नुपर्ने बताइसकेका छन् । उनले एमसीसी रोज्न सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्