प्रकाश खत्री
समयको पाउमा वस्त्र चढाएर
निवस्त्र भएका वृक्षहरू जस्तै
भित्रबाट उजारिएको तिमी
हनुमानले पहाड बोकेसरी
भ्रमको सञ्जीवनी बोकेर
मरुभूमिमा भगवान खोज्न भौतारी रहेछौ !
तिमीलाई थाहा छ,
सूर्यले एकटक मरुभुमी हेर्दछ,
मरुभूमिले तातो सुसेली हाल्दछ
तिमी निसास्सिरहेछौं
पखेटा गलेर लत्रक्क
बालुवामा पछारिएको चरा जस्तै,
फाटेका छन् तिम्रा पैतलाहरु
हिउँदको खडेरीले
धाजा फाटेका खेतहरू जस्तै,
र पनि तिमि घस्रिरहेछौं
मरुभूमीमा भगवान भेट्टाउन !
तिमी यसरी हरायौ की
अशान्त, अहंकार
घृणा, डाहा र रिसको मरुभूमिमा,
रोमालिएर अन्धकारमा
उज्यालोलाई धिक्कारी रहेछौ,
धेरै पैसा कमाउनु छ तिमीलाई
धेरै खुसी किन्नु छ
अहंकारको ज्वालाले डामिएपछि
चिसो एक गिलास शितलता किन्नु छ..
कस्तुरीले बिना खोजे जस्तै
तिमी आफैलाई बिर्सिएर
मरूभूमिमा
शितलता खोज्न भौतारिरहेछौ
तिमी आफूलाई आफैमा छाडेर
मरूभूमिमा भगवान खोज्न दौडिरहेछौ !
तिमी त मानवरुपी कस्तुरी भइसकेछौ
तिमी त अँध्यारो मात्रै देख्ने अन्धो भइसकेछौ,
चमेराले दिन नदेखे जस्तै,
तिमी देख्दैनौ
जिवन, संगीत र समयका चालहरु,
छल्किदै तिमी भित्र
बिनामा सुतेका संगितका छालहरू,
तिमी देख्दैनौ
तिम्रो सगरमाथाको शिरबाट
सुस्ताएका नदिहरु,
गुराँसको माला लगाएका पहाडहरू,
शीत बोकेका शिरूहरु,
शिरू खेलेका बारीहरू,
सुन झुलेका खेतहरू,
पहाड चिरेका तालहरू,
वसन्त बोकेर दौडिँदै गरेको
शीतल झोक्का बहावहरु,
बेवास्ताको जालोले ढाकिएपछि
कस्तुरी सरी दौडिरहेछौ
मरूभूमिमा गिलास भरको शितलता खोज्न,
कतै सहारामा हराएको भगवान खोज्न !
सृष्टिकर्ता तिमी आफै होइनौ र ?
सम्भारकर्ता पनि त तिमी नै होइनौ र ?
जसले आफ्नै तिथि, मिति र बारमा
भगवान् जन्मायो,
मठ, मन्दिर, चर्च, गुब्बा र मस्जिद बनायो
र पनि दौडिरहेछौ तिमी,
कस्तुरी बिना खोज्न दौडिएसरी
आफै भित्रको भगवान नदेखेर
मन्दिर र मस्जिदमा भगवान् खोज्न !
छाडिदेऊ अब,
कुनै मरूभूमिमा भगवान पलाएको छैन,
मन्दिर र मस्जिद ले भगवान फलाएको छैन !
सिङ्गो ब्रह्माण्ड अटाउने तिमीमा
कसैको भलो अटाएको छैन
जिउँदो भगवान अटाउने तिमीमा
कसैको खुसी अटाएको छैन
पोखिदेऊ
डाहाका डालीहरू,
घोप्टाइदेउ अहंकारको अञ्जुलीहरु,
ढल्काइदेउ कुण्ठा भरिएका कुढेँहरु,
रित्तो, खाली र स्वतन्त्र आफूलाई
आफैमा लिएर जाऊ
ब्रह्माण्डको संगीत ॐ कारमा कराउ,
तिमीलाई तिमी भित्रकै तिमी पर्खिरहेछ !!