दीपेश केसीः नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले हालै एउटा शब्द सृजना गरे ‘लाल काँग्रेस’ । उनले नेपाली काँग्रेस प्रचण्डले भनेको सबै मानेर ‘लाल काँग्रेस’ बन्न नसक्ने बताउन पुगे । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको मिल्ने वातावरण विकास गर्न खटिदा यस्तो अभिव्यक्ति दिन पुगेका थिए ।
रिजाल कुनैबेला देउवाले बनाएको नेपाली काँग्रेस प्रजातान्त्रिकका प्रभावशाली नेता थिए । लामो समय देउवासँग काम गरे । त्यतिबेला देउवाको राजासँग सुमधुर सम्बन्ध थियो । उनलाई ‘शाही काँग्रेस’ समेत भनिन्थ्यो । तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सबैभन्दा बढी चुनौती दरबारबाट सामना गरेका थिए । त्यतिबेला देउवा दरबारका प्रीय भएका थिए । पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई असंवैधानिक तरिकाले प्रधानमन्त्रीबाट हटाइदिए । पुनः नियुक्ति गरेपछि देउवा गोरखाली राजाले न्याय गरेको भन्न पुगे ।
रोचक प्रसंग यो छ कि देउवालाई प्रधानमन्त्री हुन भाग्यले खूबै साथ दियो । उनी जब जब प्रधानमन्त्री भए तब काँग्रेसले भन्दा अन्य शक्तिले फाइदा लिन सके । २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो । त्यतिबेला देउवा प्रधानमन्त्री थिए । उनले यसलाई हल्का रुपमा लिए । तर, माओवादी सशस्त्र द्वन्द्व भुसको आगो सरह फैलियो ।
देउवाको प्रधानमन्त्री कालमा इतिहासकै सबैभन्दा जम्बोमध्येको मन्त्रिमण्डल गठन भयो । नेपालको इतिहासमा संसदीय राजनीतिमा नकारात्मक घटनाहरु विकास भए । जसका कारण जनतामा राजनीतिक दलका नेताहरुप्रति वितृष्णा भयो । त्यसको लाभ हिंसामा उत्रिएको माओवादीले लिन पुग्यो ।
२०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा माओवादी जनयुद्ध उचाईमा पुगेको थियो । माओवादी शक्ति सञ्चयका लागि रणनीतिक वार्तामा आयो । तर, त्यो मात्र नाटक थियो भन्ने घटनाक्रमले पुष्टि भयो । माओवादी वार्ता भंग गरी सेनाको ब्यारेकमा आक्रमण गर्न पुगे । शक्ति शञ्चय गरिसकेका थिए । प्रभावशाली नेताहरुलाई जेलबाट छुटाइसकेका थिए । उनीहरुले सेनामाथि आक्रमण गरेर थप हतियार सञ्चय गरे ।
२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट बर्खास्त गरे । उनले सत्ता हातमा लिए । पछि पुनः सत्तामा फर्काए । देउवाले गोरखाली राजाले न्याय गरेको भन्दै खुशी व्यक्त गरे । देउवालाई सत्तामा ल्याउने र झार्ने गरेर तत्कालीन राजा ज्ञानेन्द्रले सत्ताको भरपूर अभ्यास गरे । दरबारको शक्ति बढाइरहे । उता माओवादीले पनि शक्ति बढाउने मौका पाइरह्यो ।
२०६१ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी झन् बलियो भयो । माओवादी जनयुद्ध उत्कर्षमा पुग्यो । उनलाई ज्ञानेन्द्र शाहले पुनः हटाई प्रत्यक्ष शासन गरे । राजा मन्त्रिपरिषदको अध्यक्ष बनेर प्रधानमन्त्रीले गर्ने काम गर्न थाले । त्यसपछि देउवा लामो समय सत्तामा पुग्न सकेनन् ।
२०७४ सालमा देउवा प्रधानमन्त्री बन्न सफल भए । उनलाई प्रधानमन्त्री बनाउन प्रचण्डले भूमिका खेले । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा प्रचण्डको गुम्न लागेको शक्ति फर्काउने उत्कृष्ट अस्त्र बनिदिए । स्थानीय निकायको निर्वाचनमा प्रचण्डकी छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा जिताउन देउवाले ठूलै कसरत गरे । आफै प्रचारमा जाने देखि काँग्रेसका आधिकारिक उम्मेदवारलाई पछि हटाए ।
देउवा प्रधानमन्त्रीका रुपमा रहेर आमनिर्वाचन गराए । तर, उनी प्रधानमन्त्री हुँदा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हातेमालो गरे । राजनीतिमा सबै सम्भावना हुने तथ्यलाई ओली र प्रचण्डले पुष्टि गरिदिए । कम्युनिस्टका मुख्य शक्तिहरु गठबन्धन बनाएर चुनाव लडे । भारी बहुमत ल्याए । विगतको जनमोर्चा नेपालकै हालतमा पुगिसकेको माओवादीले ऊर्जा पायो । देउवाकाल प्रचण्ड र उनको पार्टी माओवादीका लागि सञ्जीवनी बुटी नै बन्यो । पछि एमाले र माओवादी एक भएर नेकपा नै बन्यो ।
ओलीसँगको टकरावले प्रचण्ड अप्ठ्यारोमा परे । तत्कालीन नेकपाका तीन पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमै पुगे । उनीहरु मिल्दा समेत ओलीसँग जुध्न सकेनन् । त्यसपछि प्रचण्डले देउवालाई मनाउन थाले । पटक पटक धोका दिएको भन्दै देउवा मिल्न मानेनन् । अन्तमा प्रधानमन्त्री बन्ने मौका देखेर देउवा अगाडि बढे ।
देउवालाई आफूले प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले सार्वजनिक रुपमा भन्न थाले । देउवाले पनि प्रचण्डकै कारण संविधानसभा भई देशमा ठूलो परिवर्तन आएको माओवादीको महाधिवेशनस्थलमै बोले । प्रचण्डलाई अहिलेको परिवर्तनको नायक जसरी प्रस्तुत गरे ।
२०७८ सालको वर्ष देउवाका लागि भाग्यशाली बन्यो । प्रधानमन्त्री भएर काँग्रेस सभापतिमा पनि जित्न सके । तर, अहिले उनका सामु चुनौतीको पहाड तेर्सिएको छ । यसबीच उनले प्रचण्डका एकपछि अर्को माग पूरा गर्नुपर्ने वाध्यताहरु आइलागेको छ ।
एमसीसी अगाडि बढाउने क्रममा देउवाले आफ्ना पार्टीका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउन भूमिका खेले । प्रचण्ड यही चाहहन्थे । माओवादीले १ फागुनमा जनयुद्ध दिवस मनाइरहँदा विहानै महाभियोग दर्ता भएको थियो । यसलाई प्रचण्डले आफ्नो एउटा राजनीतिक जीतका रुपमा प्रस्तुत गर्न खोजे ।
प्रचण्ड चोलेन्द्रलाई हटाएर संवैधानिक निकायका नियुक्तिहरु खारेज गर्ने उद्देश्य पूरा गर्न चाहन्छन् । जसमा देउवा सहयोगी बनेका छन् । एमसीसीलाई बार्गेनिङको अस्त्र बनाएर प्रचण्डले धेरै राजनीतिक लाभ लिइसकेका छन् । अर्कोतर्फ चुनाव सार्ने उनको प्रयास चलिरहेको छ ।
देउवाको प्रधानमन्त्रीकालमा प्रचण्डले सत्तामा लाभ लिइरहँदा जनमत पक्षमा पार्ने गतिविधि साथ साथै गरिरहेका छन् । यसमा उनी सफल पनि हुँदै गएका छन् । पूर्वमाओवादी एक बनाउने रणनीति पनि बढाएका छन् । उनले सार्वजनिक रुपमै पूर्वमाओवादी एक ठाउँमा आउने बताइरहेका छन् । अर्कोतर्फ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि मिल्ने प्रयास चलाइरहेका छन् । देउवाले महाभियोगको ‘सुसाइड गोल’ गरिसकेका छन् । अब एमसीसी फेल गराएर प्रचण्डले राजनीतिक जीत देखाउन खोज्दैछन् । एमसीसी फेल बनाएर कम्युनिस्ट शक्ति एकताको बिन्दु तयार गर्ने प्रयास भइरहेको छ । यसमा प्रचण्डले देउवाबाट अर्को लाभ देखिरहेका छन् ।
देउवा प्रधानमन्त्री हुँदा उनले एकपछि अर्को राजनीतिक लाभ लिदै आएका छन् । २०५२ यताको यो लाभ निरन्तर चलिरहेको छ । देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा भएको महाकाली सन्धीविरुद्ध तत्कालीन माओवादीले मुद्दा नै बनाएर दूर दराजका गाउँहरुमा प्रभाव बढाउन सकेको थियो । यसरी नै एमसीसीविरुद्ध लागेर उसले प्रभाव बढाउन खोजिरहेको छ । काँग्रेसलाई लाल काँग्रेसमा रुपान्तरण गर्दै देउवाकालमा शक्ति सञ्चय गर्दै प्रचण्ड चुनावी सफलताको दाउमा छन् । उनी रणनीतिक रुपमा सफल हुँदै गएका छन् । यसमा देउवा उनका लागि भाग्यशाली ठहरिएका छन् ।
देउवाकालमा प्रचण्डले लिएका फाइदा