बैतडी, ९ फागुन: जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो । भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए । गाउँपालिकाकै रु दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-०७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु उक्त रकम विनियोजन गरिएको थियो ।
विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण सुरु गरिए पनि कोरोना सङ्क्रमणका कारणले केही ढिलाइ भएको थियो । नवनिर्मित दुईतले भवनमा सभाकक्षसहित १६ कोठा छन् । भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने, “यसअघि भाडामा रहेको भवनबाट सेवा प्रवाह गर्दा असहज हुन्थ्यो, अब सहज भएको छ ।”-रासस