काठमाडौँ, १० फागुन। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज (मंगलबार) प्रदेशमा सरकारविरुद्ध प्रदर्शनसंगै निर्वाचन कार्यालय घेराउ गरेका छन् । जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारविरुद्ध चर्को नाराबाजी गर्दै विरोध र्याली निकालेका हुन् ।
किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्याली नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका थिए ।
रासायनिक मल र बिउ बिजनको अभावमा कतिपय किसानको खेत अझै बाँझो रहेको र नगदे बालीका रूपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा किसान खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेकोले किसानको माग अविलम्ब सम्बोधन गर्न जनमतले माग गरेको छ ।
जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । आफूहरूले किसानका मुद्दा सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिएका हुन् ।