Logo

तनहुँमा महिला बन्दीगृह सञ्चालनमा ल्याइने



तनहुँ, १० फागुन: तनहुँको सदरमुकाम दमौलीमा महिला कैदीबन्दी भवनको निर्माण सम्पन्न भएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत तथा घेराबार गरी महिला बन्दीगृह निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएकाले अब छिट्टै नै महिला कैदीबन्दी भवन सञ्चालनमा ल्याउने तयारी गरिएको कारागार प्रशासनले जनाएको छ । यसका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँले अनुमति समेत दिइसकेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अघि अनुगमन गरेर महिला कैदीबन्दी राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरिएको थियो । तनहुँबाट बाह्य जिल्लामा पठाइएका महिला कैदीबन्दीलाई समेत जिल्लामा ल्याउने तयारी भइरहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । छिमेकी जिल्ला लमजुङले पनि कारागार भवन भत्काउन लागेकाले महिला कैदीबन्दीलाई तनहुँमा पठाउनेबारे जानकारी गराइसकिएको उनले बताए ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख गरी कूल रु ४० लाखको लागतमा बीस जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको हो । कारागारमा नयाँ दुई भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो ।

पुरानो कारागार भवनमा नयाँ जस्तापाता

त्यसैगरी पुरानो कारागार भवनमा नयाँ जस्तापाताले छाएको छ । जस्तापाता पुरानो हुँदै गएकाले पानी चुहिने समस्याबाट हैरानी खेप्नु परेकाले नयाँ जस्तापाताले छाना छाएको हो ।

कारागार व्यवस्थापन विभागबाट रु १० लाख बजेट विनियोजन भएपछि छाना छाइएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । दुईवटा ब्लकमा जिप्सन र ६ कोठामा प्लाइउड राखिएको उनले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्