काठमाडौं, ११ फागुन । बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा बिभिन्न एप्लिकेशनहरु मार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । साथै प्रहरीले बिभिन्न एप्लिकेशनहरु मार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरुमाथि बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।