Logo

रुस-युक्रेन युद्धको नेपालमा असर इन्धन, खाने तेल देखि कफीसम्म



काठमाडौं, १२ फागुन । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । आज विहानै रुसले युक्रेनमाथि हमला गरेपछि युद्ध चलेको हो । युद्धले विश्वभर तरंग आइसकेको छ । आर्थिक क्षेत्रमा ठूलै हलचल आउन थालिसकेको छ ।

कच्चा तेलको मूल्य विहानै एक सय डलर प्रतिब्यारल भइसकेको छ । यसको असर नेपालमा पनि परिसकेको छ ।

नेपालले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएपछि ठूलो परिमाणमा विदेशी मुद्रा गुमाउन थाल्नेछ । यसै पनि केही महिनाको भन्दा अहिले नेपालले दोब्बर बढी रकम इन्धन खरिदमा खर्च गरिरहेको छ । यसले विदेशी मुद्राको संचिती घटेको छ । यो क्रम झन् बढ्नेछ ।

नेपालले रुसमा कफी, चीया, मसला, कार्पेट, कच्चा छाला, बहुमूल्य धातु, अत्तर, साबुन, तामाका सामान, दुग्ध पद्धार्थ, औषधीजन्य उत्पादनलगायत निर्यात गर्दै आएको छ । निर्यातमा पनि प्रभाव पर्न सक्छ । नेपालले रुसबाट विद्युतीय सामाग्री, औद्योगिक कच्चा पद्धार्थ, विमान र हेलिकोप्टरको पाटपूर्जा आयात गर्दै आएको छ ।

यसैगरी, युक्रेनमा नेपालबाट कफी, चीया, मसलालगायतका सामाग्री निर्यात हुन्छ ।

युक्रेनबाट सुर्यमुखी फूलको तेल भारतको बजार ठूलो परिमाणमा आइपुग्छ । उक्त सामाग्रीको आयातमा असर परेमा भारतमा मूल्य वृद्धि हुनसक्छ । यसको असर नेपाली बजारमा पनि पर्न जान्छ ।

रुसविरुद्ध आर्थिक प्रतिबन्धहरु लागेमा भारतले रुसबाट आयात गर्ने कच्चा तेल आपूर्तिमा पनि असर पर्न सक्छ । आयातकर्ताहरुले आयातमा ढिलाई गर्न थालेको बुझिएको छ । यसको असर इन्धन आपूर्तिमा पर्न गई नेपालमा समेत असर पर्न सक्छ । नेपालले भारतको इन्डियन आयल कर्पोरेशनबाट तेल खरिद गर्छ । भारतले पनि मध्यपूर्वका देशहरुका अलावा रुसबाट तेल खरिद गर्छ ।



प्रतिक्रिया दिनुहोस्