Logo

सभामुख हटाउनुपर्ने एमालेको प्रस्तावमा कांग्रेस सहमत, भोलि फेरि छलफल गर्ने



काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वार्ता सहमतिउन्मुख रहेको छ । आजपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुसँग छलफल गरेका थिए ।

एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीलाई लिएर समान धारणा छैन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको पक्षमा मतदान नगर्ने बताईसकेका छन् ।

यो सँगै प्रधानमन्त्री देउवाले एमालेको साथ खोज्नेगरि आफ्नो कदम चालेका छन् । एमालेसँगको छलफल सकारात्मक बनेको कांग्रेस नेताहरुको दाबी छ । एमालेले संसद्को बैठकमा भाग लिने वातावरण बनाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेको छ ।

यसको लागि एमालेले दुई वटा मुख्य शर्त अघि सारेको छ। पहिलो शर्त एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस्न लगाउने र दोस्रो सभामुखलाई हटाउने रहेको छ। यी शर्तमध्ये दोस्रो र्शमा कांग्रेसले सहमति जनाएको छ।

पछिल्लो समय सभामुख हटाउनेबारे एमाले र कांग्रेसको उच्च नेतृत्वमा सहमति बनिसकेको छ । सभामुख हटाउनेबारे कांग्रेस र एमालेबीच सहमति हुने थाहा पाएपछि आजमात्रै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई भेटेर सत्ता गठबन्धन जोगाउनेबारे छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्