काठमाडौँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी सम्झौताको हकमा आफ्नो पार्टीमात्रै केही कुरा पनि सहभागी नभएको जिकिर गरे । तर, देशको विकासकोलागि यो अनुदान लिनुपर्छ भनेर आफूहरुले भनेको स्पष्ट पारे ।
उनले भने,“लोसपा एमसीसीमा आवद्ध छैन् । तत्कालिन नेकपाको सरकार हुँदा अर्थमन्त्री युवराज खतिवडाले एमसीसीलाई अघि बढाउँदा प्रचण्ड र माधव नेपालहरु पनि सँगै थिए, अहिलेको जसपाका अध्यक्ष उपेन्द्र यादव पनि त्यही क्याविनेटमा उपप्रधानमन्त्री हैसियतमा बसेका थिए ।”
अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार रहेको उल्लेख गर्दै उक्त सरकारमा उपेन्द्र यादव, प्रचण्ड र माधव नेपालका साथीहरु पनि सामेल रहेको सुनाए । तर, एमसीसीको हकमा भने प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले दोहोरो चरित्र देखाएको उनको गुनासो छ । उनले भने,“उहाँहरु अहिले डबल स्टाण्र्ड देखाउनुभएको छ । क्याविनेट, सडक र सदनमा बेग्लाबेग्लै कुरा गर्नुभएको छ । हिजो ओलीले अघि बढाउँदा पनि हामी सरकारमा थिएनौं । अहिले पनि सरकारमा छैनौं । तर, दातृ निकायबाट ऋण र अनुदान पाउँछौं भने त्यसलाई हाम्रो देशको हितमा उपयोग हुनुपर्छ ।”
उनले एमसीसी पास भयो भने देश विभाजन हुन्छ भनेर माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भनेको उल्लेख गर्दै कसरी देश विभाजन हुन्छ ?भनेर उल्टै प्रश्न गरे । उनले भने,यो एमसीसी नेपालले मागेको हो, अनि हामीले छानेको परियोजना अघि बढाउँदा कसरी विभाजन हुन्छ ? यो कुन किताबको कुन पानामा लेखिएको छ ? अहिले पनि उहाँहरुसँग दुई मोह छ । सत्ता मोह छ। उहाँहरुले राज्यको ढुकुटी आफ्नो हितमा प्रयोग गर्नुभएको छ । जनतालाई गुमराहमा पार्ने काम पनि उहाँहरुले गर्नुभयो । कुन कुन बुँदामा परिमार्जन गर्ने हो ? यसरी सोध्दा उहाँहरुले पढेकै छैन भन्नुहुन्छ । जनतालाई प्रष्ट रुपमा बताउनुपर्छ । लोसपाको प्रष्ट धारणा के हो भने देश विकासको निम्ति दातृ देशहरुबाट पाउने अनुदान रकम ल्याउन सकियो भने राम्रो हुन्छ । यसमा हामी सकारात्मक छौं ।
यद्धपी उनले एमसीसीबारे पहिले सरकारमा बसेकाहरुले आफ्नो दृष्टिकोण एक रुपमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने,यदि उहाँहरुले आफ्नो धारणा एक रुपमा ल्याउन सक्नुभएन भने लोसपा पनि सोच्न बाध्य हुन्छ । सरकारमा आवद्ध दलहरुले एमसीसीबारे आफ्नो धारणा प्रष्ट गर्नुपर्छ । कांग्रेस र सभापति एवम् प्रधानमन्त्री देउवाजीको धारणा क्लियर छ । डबल स्टाण्र्डले मुलुकमा अन्यौलता छाएको छ। अहिले पूरा मुलुकको ध्यान एमसीसीले गर्दा संसदमा छ । मुलुकलाई बन्धक बनाउनुहुँदैन् । या त सरकारी प्रस्तावको पक्षमा भोट दिनुहोस, या त सरकारबाट बाई बाई गर्नुहोस । बाटो पनि नछोड्ने अनि कुरा पनि अघि बढाउन नदिने गर्नुहुँदैन् । यो अवस्थाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विस्तारै विस्तारै धुमिल हुँदै गएको छ ।”