Logo

सङ्घीयतामा विकास विकेन्द्रित हुन्छ: मुख्यमन्त्री राई



मोरङ, १४ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा विकासका कार्य विकेन्द्रित हुने बताएका छन् ।प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ शाखाद्वारा संयुक्तरुपमा आज आयोजित आर्थिक सम्मेलनमा उनले प्रदेशको निर्माणका कारण यहाँका १४ जिल्लामा पूर्वाधार निर्माण दामासाहीरुपमा भइरहेको धारणा व्यक्त गरे ।

सङ्घीयताको सुन्दर पक्ष नै मुलुकमा रहेको विकासको खाडललाई पुर्दै जानु भएको र अहिले नै प्रदेशको मूल्याङ्कन गर्ने समय नभएको चर्चा गर्दै मुख्यमन्त्री राईले शून्यको अवस्थाबाट सुरु भएको प्रदेश सरकरलाई केन्द्रीय सरकारले दिने अनुदान, राजस्व बाँडफाँट र राजस्व सङ्कलनको क्षेत्र सीमित हुँदा जनचाहनाअनुसार सोचिएको कार्य गर्न नसकिएको बतए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले उचित व्यवस्थापन नभएका कारण मुलुकमा तरलताको अवस्था सिर्जना भएको भन्दै सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने विचार राखे ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विगत छ÷सात महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अत्यधिक भएका कारण आर्थिक समस्या उत्पन्न भएको बताए ।उनले ठूला उद्योगी र व्यापारीलाई कर्जा लिन केही समस्या भएको महसुस भएको चर्चा गर्दै बजार सहज होस् भन्नका लागि राष्ट्र बैंकको रु ३२६ अर्ब रकम बैंकलाई चलाउनु दिएको जानकारी दिए । उनले अर्थतन्त्रमा उतारचडावका समयमा उद्योगी र व्यापारीलाई सरकारलाई सहयोग गर्न आग्रह गरे ।

अर्थसचिव मधु मरासिनीले पुँजीगत खर्च केही कम भए पनि समग्रमा ४० प्रतिशत खर्च भएको जानकारी दिँदै नेपाली बजारको ठूलो क्रेता भनेको नेपाल सरकार नै हो भने । उनले आगामी असार मसान्तसम्म अर्थतन्त्रमा केही उतारचढाव भए पनि समस्याग्रस्त भने नहुने विश्वास दिलाए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्