Logo

रुसले युक्रेनमाथि आक्रमण गरेको आज चौथो दिन, भीषण संघर्ष जारी



एजेन्सी, १५ फागुन। रुसले युक्रेनमाथि आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको छ ।

राजधानी किभमा ठूल्ठूला विष्फोट र रकेट हमलाका आवाज आईरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । युक्रेनी सेनाको कडा प्रतिरोधका कारण रुसी फौज जुन रफ्तारमा अघि बढ्ने ठानिएको थियो त्यो गति धिमा बनेको बेलायती गुप्तचरहरुले उल्लेख गरेका छन्।

रुसी सेनाले युक्रेनी सरकारी अखडाहरुमा आक्रमण केन्द्रीत गरेको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा रुसी सेनाले ग्यास पाइपलाइन विष्फोट गराएको त्यहाँका मेयरले बताएका छन् । केही तेल रिजर्भहरुमा पनि रुसी सेनाले आक्रमण गरेको र त्यसको धुवाँ फैलिएको बताइएको छ ।

उता, रुसले युक्रेनमा सवैतिरबाट हमला गर्न सैनिकलाई आदेश दिएको छ । जल थल र हवाई आक्रमण तथा सवै दिशाबाट आक्रमण गर्नका लागि आदेश दिइएको हो । युक्रेन राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सत्ताबाट हटेर त्यहाँको सेनाले सत्ता हातमा लिनुपर्ने शर्त राखेको रुसको वार्ता प्रस्तावलाई युक्रेनले अस्वीकार गरेपछि रुसी रक्षा मन्त्रालयले चारैदिशाबाट आक्रमण तीब्र बनाउन आदेश दिएको हो ।

युक्रेनी सरकारले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाए पनि आक्रमण छल्नका लागि भाग्नेहरुको लाईन १५ किलोमिटर लामो रहेकोछ । पछिल्ला दुई दिनमा सवा लाख युक्रेनीहरु पोल्याण्ड प्रवेश गरेको खबरछ । देश छाड्नेहरुमा अधिकांश भने महिला र बालबालिकाहरु रहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्