Logo

युक्रेनको तेल भण्डारमा रुसले गर्यो आक्रमण(भिडियोसहित)



एजेन्सी, १५ फागुन। रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले उल्लेख गरेको छ ।

युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएरै रात कटाइरहँदा किभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो, जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।

रुसी क्षेप्यास्त्रले भासीलकीभको एउटा तेल डिपोमा आक्रमण गरेको त्यहाँका मेयरले बताएकी छन्। त्यसबाट विषाक्त धुवाँ निस्कने चिन्ता व्यक्त भएको छ । उनले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिएको छ।

एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको बिबिसीले जनाएको छ । शनिबार उक्त सहरमा अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको युक्रेनले प्रतिरोध गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन् । हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ ।



प्रतिक्रिया दिनुहोस्