काठमाडौं, फागुन १७ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक योजना बनाएको छ ।
महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना अन्तरगत पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी गौशाला क्षेत्रको भिड तथा यातायात व्यवस्थापन चुस्त राखिने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज चक्रथप रुटमा चल्ने सवारी निर्वाध रुपमा हिजो–अस्ती जस्तै सुचारु राख्नेगरि योजना बनाईएको छ ।चावहिल–गौशाला–तिलगंगा–विमानस्थल क्षेत्रमा सवारी आवागमनमा समस्या भए बैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था मिलाइने समेत ट्राफिक महाशाखाको दाबी छ । विगतमा चक्रपथबाट आउने सवारीहरुलाई चावहिल र कोटेश्वर तिनकुने क्षेत्रबाट जाने सवारीलाई सिनामंगलमा रोकिने गरेको थियो ।
यस पटक सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोर लगायतका क्षेत्रमा सर्वसाधारणहरुलाई पार्किङको व्यवस्था मिलाएको छ । सरकारी गाडी तथा पास बाहक सवारीलाई समेत छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।