काठमाडौं, १८ फागुन । कुटनीतिज्ञ तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरु मिलेर कांग्रेसलाई पराजित गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै वामपन्थीहरु मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनुपर्ने सनसनीपूर्ण टिप्पणी गरे ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमसीसी फेल खुवाउनुपर्दथयो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन् । सबै वाम मिलेर देउवालाई हराउनुपर्छ । चीन विरोधी अमेरिकी समर्थक फरेन पोलिसी अपनाउनेलाई दण्डित गराउनुपर्छ । नेपालले स्वाधिन भएर असल छिमेकी भएर बस्नुपर्छ ।’
उनले महाकाली सन्धी पारित गर्दा संकल्प प्रस्ताव पारित गरेजस्तै एमसीसी पारित गर्दा व्याख्यात्मक घोषणा पारित गरेको सुनाए । उनले भने,‘एमसिसीको प्रसंग जो छ, यो द्धिपक्षीयमात्रै होईन । त्रिपक्षीय पनि हो । अहिले एमसीसी कार्यान्वयन हुँदा विजुली खपत हुने कुरा गरिएको छ, यो विजुली खपत त नेपालमै हुन्थ्यो नि । एमसीसीमार्फत नेपालको विजुली भारतलाई बेच्ने कुरा हो । अमेरिकाले लगानी गर्ने, दक्षिणमुखी अर्थतन्त्र बनाउने काम हो । एमसीसीमा यत्रो विरोध भयो, तर नेताहरुले लाज पचाउनको लागि व्याख्यात्मक घोषणा गरेर पास गरे । महाकाली सन्धीमा पनि संकल्प प्रस्ताव पास भएको थियो । गठबन्धन जोगाउनको लागि यो व्याख्यात्मक घोषणा भएको हो ।’
उनले रुस–युक्रेन युद्धमा भारत र चीन तटस्थ बसेको बेला नेपालले युक्रेनको बारेमा प्रो–अमेरिकन वक्तव्य दिएको टिप्पणी गरे । उनले भने,‘हामी बल प्रयोगको विपक्षमा छौं । युक्रेनमा भएको घट्नाले हामीलाई असर परिसकेको छ । युक्रेनमा रहेका हाम्रा नेपालीहरुको रोजगारी खत्तम भयो, उनीहरुको पढाई डिस्टर्ब भयो । यता नेपालमा तेलको भाउ बढ्ने भयो । अब विश्वमा महँगी बढ्छ, अभाव हुन्छ ।’
उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कम्युनिष्ट नभएर राष्ट्रवादी नेताको रुपमा चित्रण गरे । उनले भने,‘पुटि कम्युनिष्ट होईन, उ त राष्ट्रवादी हो । पुटिन सोभियत संघभन्दा अघिको गौरव पूनःस्थापना गर्न चाहन्छ ।’