Logo

हतारमा निःशस्त्रीकरणले युक्रेनको दुःख बन्दै रुस



काठमाडौं, फागुन ३१ । सन् १९९६ अघिको समय हुँदो हो त युक्रेनमाथि आक्रमण गर्ने ‘साहस’ हरकोही देशले गर्ने थिएन। तर अहिलेको युक्रेनमाथि छिमेकी शक्तिशाली देश रुसले हमला गरेर क्षति पुर्‍याइरहेको छ।

एक सातायता रुसको आक्रमणले युक्रेनकै अस्तित्व के हुने हो भन्ने सोच्न बाध्य बनाइदिएको छ। रुसले नौ दिनदेखि ‘विशेष सैन्य कारबाही’ का नाममा युक्रेनमाथि बर्बर आक्रमण गरिरहेको छ।

युक्रेनको राजधानी किएभ, खारकिभ,ओडिसा, खेरसन लगायतका सहरमा रुसले लगातार बमबारी गरिरहेको छ। रुसी बख्तरबन्द गाडीहरू लस्करका लस्कर प्रमुख सहरहरूमा पसेका छन्। युक्रेनमाथिको आक्रमणमा रुसले करिब डेढ लाख सैनिक परिचालन गरेको छ।

युक्रेन सन् १९९६ सम्म विश्वकै तेस्रो ठूलो आणविक महाशक्ति थियो। ऊसँग त्यति बेला ६ हजारभन्दा बढी आणविक हतियार थिए। जानकारका अनुसार अहिलेको विश्वमा थोरै भए पनि आणविक हतियार भएको मुलुकमाथि सैन्य आक्रमण गर्न महाशक्ति राष्ट्र समेत हच्किन्छन्। युक्रेन पहिलेकै अवस्थामा भएको भएर सायद रुसले आक्रमण गर्ने आँट गर्ने थिएन।

सन् १९९१ अघि युक्रेन विघटित सोभियत संघको अंग थियो। सोभियत संघको विघटनबाट युक्रेनसहित १५ वटा नयाँ देश जन्मिए। दोस्रो विश्वयुद्ध सकिएसँगै ४५ वर्षसम्म संयुक्त राज्य अमेरिका र सोभियत संघबीच शीतयुद्ध चलेको थियो। सन् १९९१ मा सोभियत संघको विघटनसँगै त्यो सकियो।

शीतयुद्धका बेला सोभियत संघ र अमेरिकाबीच आणविक हतियार बनाउने होड चलेको थियो। विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकले देखाएअनुसार त्यसबेला सोभियत संघसँग झन्डै ४० हजार र अमेरिकासँग ३० हजार आणविक हतियार थिए।

सोभियत संघ विघटनपछि युक्रेनको भूमिमा रहेका ६ हजारभन्दा बढी आणविक हतियार उसैसँग रहे। सन् १९९६ सम्म ती हतियार युक्रेनसँगै थिए। त्यसयता भने युक्रेन आणविक शक्तिका रुपमा निःशस्त्र छ। ऊसँग परमाणु हतियार एउटा पनि बाँकी छैन। सोही कारण रुसले सहजै आक्रमण गर्न सकेको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्