काठमाडौं, २१ फागुन । प्राइम टाइम्स टेलिभिजनले सुदूरपश्चिमको विकासमा चासो राख्दै धनगढीमा अन्तक्रिया गरेको छ । सुदूरपश्चिमका हरेक क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र त्यहाँका राजनीतिक दलहरुले निर्वाह गरेको भूमिकाबारे टेलिभिजनले चासो व्यक्त गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले सुदूरपश्चिमका विकास गतिविधि, स्थानीय र प्रदेश सरकार तथा दलहरुको भूमिकामाथि टेलिभिजनले सधैं खबरदारी गर्ने जानकारी दिए । अध्यक्ष धमलाले विकासको प्रमुख समस्या भ्रष्टाचार भएकाले त्यसको समूल अन्त्यका लागि सबै एकबद्ध हुनुपर्ने धारणा राखे ।
समारोहलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्राइम टाइम्स टेलिभिजनले सुदूरपश्चिम प्रदेशमा राखेको चासोप्रति धन्यवाद दिए । उनले आफनो कार्यकालमा सुशासन, विकास, जनताका अधिकार र जनपक्षीय काम भएको दावी गरे ।
समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकार भ्रष्टाचामा चुर्लुम्म डुबेको आरोप लगाए ।
नेता रावलले प्रतिपक्षी दलले जति खबरदारी गरेपनि मुख्यमन्त्री त्रिलोचन भट्ट र उनको सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । समारोहलाई भौतिक योजना मन्त्री दीर्घराज सोडारीले पनि सम्बोधन गर्दै सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
समारोहमा सहभागी बुद्धिजिवी एवम स्थानीयवासीले केन्द्र सरकारको हेपाह प्रवृतिका कारण सुदूरपश्चिम अघि बढ्न नसकेको गुनासो गरेका थिए ।