काठमाडौं, २२ फागुन । तनहुँको सदरमुकाम दमौलीको एक पसलमा भीषण आगोलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोकको भुपाल हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको हो । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
विद्युत लाइन सर्ट भएर आगोलागी भएको हुनसक्ने स्थानीयले बताएका छन् । पसलमा भएका प्लाइउड र प्लास्टिकका सामानमा आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।
अहिलेसम्म त्यहाँका केही घर जलेको छ भने आगो निभाउनका लागि काठमाण्डौबाट पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ ।
यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको जिल्ला प्रशासन कार्यालय तनहूँले जनाएको छ ।
प्रशासनको अनुसार आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको छ ।