Logo

एनआरएनए र आइएलओको सहकार्यबाट करिव २८ हजार श्रमिक प्रत्यक्ष लाभान्वित



काठमाडौं, २३ फागुन : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन् ।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाएको यो कार्यक्रमार्फत २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन् ।

संघले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलोको १० करोड आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गरेको थियो । सन् २०२० को अगष्टदेखि सुरु भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चलेको संघले जनाएको छ ।

कार्यक्रमका संयोजक समेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार यस परियोजना अवधिभर २८ हजार ५५७ नेपाली सूचीकृत भएका थिए । तीमध्ये २७ हजार ९५६ जनालाई सहयोग उपलब्ध गराइएको हो ।

यो कार्यक्रममार्फत खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानूनी साहयता, पीसीआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पु¥याइएको डा. केसीले जानकारी दिए ।

कार्यक्रममार्फत १२ हजार ५१७ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको थियो । यस्तै विभिन्न कारणले कागजातविहीन भएका ५ हजार २५० श्रमिकलाई डकुमेन्टेसनमा सहयोग पु¥याइएको थियो । यसैगरी ३ हजार ६९४ जनालाई खाना र बस्नको व्यवस्था गरिएको थियो ।

कार्यक्रमले ५३१ जनालाई कानूनी सायता उपलब्ध गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ७४९ जनालाई पीसीआर तथा ९८७ जनालाई आंशिक हवाइ टिकटको व्यवस्था गरिएको संघले जनाएको छ ।

यो अवधिमा संघले विभिन्न देशमा कैदी जीवन बिताइरहेका २३४ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको दाबी संघको छ । दूतावासको समन्वयमा जरिवाना वापतको रकम तिरेर उनीहरुलाई जेलमुक्त गरिएको संघले जनाएको छ ।

त्यसैगरी कोभिड कारण रोजगारी गुमाएका २५५ नेपालीलाई पुनः काम दिलाइएको छ । त्यस्तै अलपत्र परेका १ हजार ४३५ जनालाई सम्बन्धित देशको सुरक्षित सेल्टरसम्म पुर्याउन यातयात खर्च उपलब्ध गराइएको संघले जनाएको छ ।

विदेशीबाट काठमाडौंसम्म उद्धार गरी ल्याइएका १ हजार २७७ नेपालीलाई आ–आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ। । यस्तै १ सय ७४ जना श्रमिकलाई काठमाडौमा होटल क्वारेटिनको ब्यवस्था गरिएको थियो ।

देश अनुसार यो कार्यक्रममार्फत साउदी अरेवियामा ७ हजार ६५६, कतारमा ६ हजार ९८५, मलेसियामा ४ हजार १७०, यूएईमा ३ हजार ४६५, कुवेतमा ९०, ओमनमा ३४, बहराइनमा ३३, कम्बोडियामा २२, र रसियामा २ जनाले सहयोग पाएको परियोजना प्रमुख सुजता शर्माले जानकारी दिइन् ।

यो कार्यक्रम अन्र्तगत नै रसियाबाट नेपाली श्रमिक महिला र उनको दुधे बालिका तथा यूएईबाट जुम्ल्याहा दुधे बालिका र उनकी आमालाई उद्धार गरिएको थियो ।

खाडी र मलेसियामा मात्र होइन अवैध रुपमा कामको सिलसिलामा कम्बोडियामा पुगेर समस्यामा परेका २२ जना नेपाली युवालाई समेत यही कार्यक्रममार्फत तत्काल राहत प्रदान तथा उद्दार गरी नेपाल फर्काइएको थियो ।



प्रतिक्रिया दिनुहोस्