Logo

प्रधानमन्त्री देउवाले अमेरिकाको इशारामा रुसविरुद्ध मतदान गर्न लगाएको आरोप लगाउँदै पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले भनेः नेपालको भविष्यमाथि नै खतरा



काठमाडौं, २३ फागुन । नेकपा एमालेका सचिव एवं पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले अमेरिकाको इशारामा प्रधानमन्त्री शेरबहादुर देउवाले रुसविरुद्ध संयुक्त राष्ट्रसंघको विशेष महासभामा मतदान गर्न लगाएको आरोप लगाएका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले देउवाले देशलाई अमेरिकी शिविरमा देशलाई लान खोजेको आरोप समेत लगाए ।

‘कसैको इशारामा तटस्थ नबसी मतदान गरिएको छ,’ महासेठले प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकाको आलोचना गर्दै भने,‘नेपालको भविष्यमा ठूलो असर पर्न सक्छ । प्रधानमन्त्रीले यसबारे सोच्नुभएन ।’

रुसविरुद्ध नेपाल सरकारले मतदान गर्न लाग्दा प्रचण्ड र माधव नेपालले पनि रोक्न नसकेको भन्दै आलोचना गरे । उनले भने,‘प्रचण्ड र माधव नेपालले रोक्नुपर्दथ्यो । तर, उहाँहरुले केही गर्नुभएन ।’

सरकारले देश कुनै खेमामा रहेको देखाउन खोजेको आरोप लगाए । नेपाल असंलग्न परराष्ट्रनीति अबलम्बन गर्दै आएको उल्लेख गर्दै भने,‘देशलाई फसाएको छ । पञ्चशीलको नीति अनुसार तटस्थ बस्दा के हुन्थ्यो ?’

रुस-युक्रेन युद्धमा भारत र चीन दुवै छिमेकी तटस्थ बसेको उल्लेख गर्दै देउवा सरकारको कदमले आशंकाहरु बढाएको टिप्पणी गरे । उनले भने,‘के हामी भारत र चीनभन्दा शक्तिशाली भयौं ?’ दक्षिण एशियाका पाकिस्तान, श्रीलंका, बङ्गलादेश जस्ता देशले संयम अपनाएर तटस्थ बसेको तर नेपालले कुनै खेमामा रहेको जसरी देखाउन खोजेको टिप्पणी गरे ।

राष्ट्रसंघमा रुसविरुद्धको मतदानमा प्रतिपक्षसँग नसोधेको बताए । वर्तमान सरकार आफ्नो हिसाबले परराष्ट्रनीति अबलम्बन गरिरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्