काठमाडौं, २४ फागुन । नेकपा एमालेकी सचिव पद्मा अर्यालले अन्य दलभन्दा आफ्नो पार्टी महिलामैत्री भएको दाबी गरेकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेकी अर्यालले भनिन्, “राजनीतिक क्षेत्रमा महिला प्रतिनिधित्व बढाएको छ । प्रतिनिधित्व भनेको अधिकार हो । समानता भनेको व्यवहार हो । संविधानतः समानताको ढोका खोल्ने काम सुरु भएको छ । हामी क्रमशः सिँढी चढ्दै छौं । फड्को मार्दैछौं । राजनीतिक दलको हिसाबले महिलालाई प्रमुखता दिने पार्टी नेकपा एमाले हो । महिला राष्ट्रपति बनाउने पनि एमाले नै हो । अरु दलभन्दा एमाले महिलामैत्री छ ।”
तपाईंको दलमा अध्यक्ष त महिला छैनन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “राष्ट्रपति महिला नै हुनुहुन्छ । अलि पहिले सभामुख र प्रधानन्यायाधीश पनि महिला नै हुुनुहुन्थ्यो । उहाँहरुले महिला सक्षम छन् भन्ने सन्देश दिनुभयो । अब बिस्तारै राजनीतिक दलमा पनि महिला फस्ट म्यान बन्ने वातावरण बन्दैछ । सामाजिक पर्खाल तोड्दै हस्तक्षेपकारी भूमिकामा महिला अघि बढ्दै छन् ।”
समानतामा पुग्न लागि महिलालाई आर्थिक अधिकार दिनुपर्ने उनले औंल्याइन् । अर्यालले थपिन्, “आर्थिक अधिकार नपाएसम्म महिला सशक्तिकरण हुन सक्दैन । महिला आत्मनिर्भर र स्वावलम्बी हुन सक्दैनन् । महिलामाथि अन्याय, अत्याचार भइरहन्छ । अनावश्यक राजनीतिकरण र संरक्षण गर्दा पनि दोषीलाई दण्डित गर्न सकिँदैन ।”