काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले विघटन गरेको संसद् चल्नहुँदैन भनेर अडान लिएर अहिले संसद् अवरोध भैरहेको टिप्पणी गरेका छन् । उनले भने,‘संसद् अवरुद्ध भैरहेको कारणले गर्दा अहिले अर्ली ईलेक्शनको कुरा आएको हो, त्यो अथेन्टिक ढंगले कसैले निर्णय गरेको कुरा पनि होईन, मलाई लाग्छ त्यो सजिलो पनि छैन् । आजको आवश्यकत्ता भनेको मुख्यगरि संसद् चल्नुपर्छ । तर, यो संसद् अवरोध कायमै रह्यो, एमालेले निकास दिएन भने उसले अर्ली ईलेक्शनको प्रस्ताव ल्याउनुपर्यो । अहिले सबैले यो भनेको स्थिति छैन् ।’
उनले आफूहरु आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको दिनमा कांग्रेस निर्वाचनको खिलाफमा नरहेको जिकिर गरे । उनले आफूहरु आवद्यिक निर्वाचनको पक्षमा रहेको सुनाए । उनले अहिले देशभरिको वातावरण हेर्दा निर्वाचनमा कांग्रेसकै माहोल रहेको सुनाए ।
अहिले अर्ली ईलेक्शनको कुरा एमालेले गरेको संसद् अवरोधको कारण आएको उनको भनाई छ । उनले एमालेको स्वार्थको लागि आफूहरुले सभामुख अग्निप्रसाद सापकोटालाई नहटाउने पनि दाबी गरे । उनले भने,‘एमालेको स्वार्थको लागि हामीले सभामुख हटाउन किन तयार हुनुपर्यो, एमालेले १४ जना सांसदलाई निलम्बन गर भन्छ, अनि हामी किन तयार हुनुपर्यो, यो त एमालेको विषय हो नि।’