Logo

एमालेद्धारा शिवनाथ गाउँपालिका उपाध्यक्षलाई कारवाही



बैतडी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीबाट निष्कासित गरेको छ । चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीको हित विपरित काम गरेको भन्दै कारबाही गरेको जनाएको छ ।

एमालले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै चन्दमाथि कारवाही गरेको उल्लेख गरेको छ । गत माघ १२ गते राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका केही प्रमुख–उपप्रमुखहरुले अन्तर्घात गरेको एमालेले निष्कर्ष निकालेको अनुसार प्रदेशले जिल्लालाई छानबिन गरी कारवाही गर्न निर्देशन दिएको थियो ।

‘पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।’

 

पार्टीलाई बुझाउनुपर्ने लेबीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको एमालेको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्