एजेन्सी, २६ फागुन । भारतको ५ राज्य उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाब राज्यको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजाले भाजपा बलियो देखिएको छ । ४ राज्यहरुमा भाजपा बहुमत ल्याउने दिशातर्फ बढेको छ । पञ्जाबमा आम आदमी बहुमतको दिशातर्फ बढेको छ ।
अहिलेसम्मको मतगणनामा उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा बहुमत सिटमा अगाडि छ । पञ्जाबमा आम आदमीको बहुमत आउने निश्चितप्रायः देखिएको छ ।
उत्तर प्रदेशमा भाजपाको भारी बहुमत आउने देखिएको छ । त्यहाँ योगी आदित्यनाथको जादू चलेको छ । ४०३ सिटमा भाजपाले ३ सय सिट कटाउने या नकटाउनेमा चासो देखिएको छ ।
उत्तराखण्डमा पनि भाजपा स्पष्ट बहुमततर्फ बढेको छ । त्यहाँको ७० सिटमा भाजपा बहुमत सिटमा अगाडि छ ।
गोवामा ४० सिटमध्ये भाजपा बहुमत सिटमा अगाडि छ । मणिपुरमा पनि भाजपा बहुमतका साथ बढेको छ । त्यहाँ ६० सिटमध्ये भाजपाले भारी बहुमत ल्याउने मतपरिणामको प्रारम्भिक नतिजाले देखाएको छ ।
पञ्जाबमा आम आदमीले पहिलोपटक सरकार बनाउने अवस्था देखिएको छ । अरबिन्द केजरिवालको जादू त्यहाँ चलेको छ । किसान आन्दोलनको असर पञ्जाबको विधान सभा चुनावमा देखिएको छ । त्यहाँ कँग्रेस आईलाई ठूलो धक्का लागेको छ । अकाली दललाई पनि ठूलो धक्का लागेको छ । पञ्जाबमा भाजपा कमजोर नै थियो र यसपटक झन् कमजोर प्रदर्शन गर्न पुगेको छ ।
उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा पनि कँग्रेस आईलाई धक्का लागेको छ । उत्तराखण्ड र गोवामा कँग्रेस आईले बहुमत ल्याउने आशा गरेको थियो ।