Logo

सत्ता गठबन्धनबीच चुनावी तालमेलको ‘भद्र सहमति’, भागवण्डा कसरी होला ?



काठमाडौं, २६ फागुन । सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको भद्र सहमति भइसकेको बुझिएको छ । एमसीसी अनुमोदन गर्ने सहमति हुँदा चार दलका शिर्ष नेताबीच यस्तो सहमति बनेको बुझिएको छ ।

आज प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरे । उनले कसैले पनि एक्लै बहुमत ल्याउने अवस्था नभएको बताएर तालमेलमा जोड दिए । यसअघि काँग्रेस नेता रामचन्द्र पौडेलले यस्तै अभिव्यक्ति दिएका थिए ।

काँग्रेसभित्र देउवा इतर समूह भने तालमेलको पक्षमा छैन । काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापाका अलावा केन्द्रीय सदस्य डा. शेखर कोइराला तालमेलको विपक्षमा बोल्दै आएका छन् । तर, देउवाले आज तालमेलको विषय उठाइदिएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तालमेलका लागि कार्यदल नै बनाउन लगाए । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तालमेल हुने बताइसकेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि तालमेलको पक्षमा छन् ।

स्थानीय चुनाव, प्रदेश र प्रतिनिधि सभामा समेत चुनावी तालमेल गर्ने गरी गठबन्धनका नेताहरु बढेका छन् । विश्वस्त स्रोतका अनुसार महानगरपालिकाहरुमा काठमाडौं, ललितपुर र विराटनगर नेपाली काँग्रेसले लिने, भरतपुर माओवादीले, पोखरा नेकपा एसले र वीरगञ्ज जसपाले लिने गरी भद्र सहमति बनाउन लागिएको छ । पोखरा काँग्रेसले लिएर केही उपमहानगरपालिका र नगरपालिकामा नेकपा एसले लिने गरी प्रस्ताव अगाडि बढाउन खोजिएको छ ।

देशभरका पालिकाहरुमा तालमेल गरेर बढ्ने गरी गठबन्धनका नेताहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । कुन पालिकामा कस्को बलियो स्थिति छ त्यसको आधारमा भागवण्डाको तयारी समेत भएको बुझिएको छ । वडा तहमा समेत भागवण्डा गरेर बढ्ने गरी गठबन्धन बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्