काठमाडौं, २८ फागुन । तराईमा मुख्य आधार भएका दलहरु विभाजित छन् । जनता समाजवादी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।
२०७४ को चुनावमा संघीय समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी तालमेल गरी स्थानीय निकाय देखि प्रदेश र प्रतिनिधि सभाको चुनावमा महत्वपूर्ण जित हासिल गरेका थिए । यी दुई मिलेर तमलोपा बन्दा देशमा तेस्रो शक्ति बनेका थिए । तर, जसपा फुटेपछि तराईको राजनीतिमा अवस्था बदलिएको छ ।
जसपाका नेता समेत रहेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पार्टी परित्याग गरेका छन् । चुनाव नजिकिदै गर्दा उनी एमालेमा गएका हुन् । विगतमा तमलोपाबाट वीरगञ्जको मेयर लडेका राजेशमान सिंह पनि एमालेमा प्रवेश गरिसकेका छन् ।
तराईलाई आधार बनाएका जसपा र लोसपा दुवै कमजोर देखिन थालेका छन् । ती दलका नेताहरु पार्टी छाड्न थालेका छन् ।
विगतमा काँग्रेसको मुख्य आधार तराई नै थियो । तराई केन्द्रित दलहरु मजबुत हुँदा काँग्रेसलाई धक्का लागेको थियो । अब उनीहरु फुटेपछिको फाइदा काँग्रेसले लिनसक्ने आँकलन गर्न थालिएको छ ।
तराईमा एमालेले पनि आक्रामक रणनीति अघि सारेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले महत्वपूर्ण कार्यक्रमहरुमा ओलीले आफूहरुको धेरै माग सम्बोधन गर्न कदम चालेको बताउन थालेका छन् । ओलीले पनि नागरिकता विधयेक आफूले ल्याएको बताएर तराईमा प्रभाव बढाउन खोजेका छन् । मधेश केन्द्रित दलका नेता देखि माओवादीका तराईका नेताहरु तान्न थालेका छन् ।
प्रभु साहलाई एमालेमा ल्याएर ओलीले तराईमा माओवादीलाई धक्का दिन सकेको विश्लेषण भएको थियो । साह तराईमा प्रभावशाली मानिन्छन् । पछिल्लो समय ओलीले माओवादीबाट २०७४ सालको चुनाव जितेका देखि लडेकाहरुलाई धमाधम तान्न थालेका छन् । यसले माओवादीलाई ठूलो धक्का लाग्न सक्छ ।
तराईमा माओवादीको पनि बलियो आधार छ । विगतमा जस्तो प्रभाव भने छैन । तराईका कतिपय बलिया नेताहरुले पार्टी छाड्नुले माओवादीलाई नोक्शान परेको छ ।
नेकपा एसको देशका अन्य प्रदेशमा भन्दा मधेश प्रदेशमा बलियो स्थिति छ । अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहट हुनुले पनि त्यो अवस्था बनेको हो । तर, जनाधार भएका प्रभावशाली नेताहरु कम हुनुले जसपालाई सजिलो छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थकहरुको संख्या पनि तराईमा छ । राजावादी र हिन्दुवादीहरु राप्रपामा छन् । उनीहरुको चुनावी रणनीतिले त्यहाँको स्थितिमा फरक पार्न सक्छ ।
तराईमा सीके राउतको समूह फैलिइरहेको छ । चुनाव लड्ने निश्चित नगरेको राउत समूहले जसपा र लोसपाको शक्ति तान्न खोजिरहेको छ ।
तराईमा सत्ता गठबन्धन मिलेर चुनाव लडेमा एमालेसहित अर्को गठबन्धन पनि बन्ने सम्भावना बलियो छ । एमालेसहितको गठबन्धनमा लोसपा र सीके राउत समूह हुनसक्ने संकेतहरु देखिदैछ । यस्तो अवस्था बनेमा तराईको चुनावी भिडन्त रोचक बन्न सक्छ ।