एजेन्सी, ३० फागुन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति हुँदा अमेरिकालाई कुनैपनि नयाँ युद्धमा नधकेलेको बताएका छन् । उनले आफू राष्ट्रपति भएको भए रुसले युक्रेनमाथि हमला गर्न सक्ने अवस्था आउने सम्भावना थिएन भनेका छन् ।
शनिबार रयालीलाई सम्बोधन गर्दै ट्रम्पले वर्तमान राष्ट्रपति जो वाइडेन प्रशासनको आलोचना गरे । झूटा समाचारले आफूले अमेरिकालाई युद्धमा लाने प्रचार गरेको तर नलगेको बताए । उनले भने,‘मेरो व्यक्तित्व नै युद्धमा संलग्न नहुने हो ।’
अमेरिकालाई नयाँ युद्धमा नलाने एकमात्र राष्ट्रपति आफू रहेको ट्रम्पको दाबी थियो । उनले वाइडेनको नेतृत्वको अमेरिकाबारे भने,‘न कोही डराउँछ न कोही सम्मान गर्छ ।’
अमेरिकालाई अरु देशहरुले पाठ सिकाउन खोजेको टिप्पणी गरे । आफूहरुले विश्वभर अराजकता र रक्तपात देख्नुपरेको बताए ।
ट्रम्पले वाइडेनलाई कमजोर र कायर भनेका छन् । तथापि युक्रेनको संकट पार लगाउने मार्ग रहेको बताए । पुटिन रोकिन्छ भन्ने सोचेर बसेमा तेस्रो विश्वयुद्धको खतरा अैल्याए । अमेरिकी सरकारले पुटिनसँग संवाद नगरेको भन्दै आलोचना गरे ।