Logo

‘एमालेसँग तालमेलको सम्भावना’ बारे प्रचण्डले भनेः काँग्रेसले लखेट्न नै थाल्यो भने भन्न सकिदैन



काठमाडौं, ३ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावमा तालमेलको सम्भावनाको ढोका बन्द नभएको बताएका छन् । आज बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने नभएको बताउँदै त्यस्तो ढोका बन्द नभएको स्पष्ट पारे ।

‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन,’ एमालेसँग चुनावी तालमेल र सहकार्यबारे पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामी गठबन्धनलाई चुनावसम्म लाने उद्देश्यमा छौं । यसमा नेपाली काँग्रेसको व्यवहारमा भर पर्ने कुरा हो ।’

काँग्रेसका केही नेताहरुले माओवादीसँग सहकार्य र तालमेल नगर्ने अतिवादी व्यवहार देखाइरहेको बताउँदै प्रचण्डले भने, काँग्रेसले लखेट्न नै थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिदैन ।

माओवादीले प्रधानमन्त्री बन्ने भन्दा पनि बनाउँदै आएको उल्लेख गर्दै धेरै असम्भव भनिएको विषयलाई सम्भव बनाएको दाबी गरे । उनले गठबन्धनलाई हरहालतमा बचाउने पक्षमा आफू रहेको र प्रधानमन्त्री शेरबहादुर देउवा पनि रहेकाले यो बाहेकको विकल्पमा तत्काल जाने अवस्था नरहेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै निषेधात्मक सोच भएकासँग तत्काल सहमति र सहकार्यको सम्भावना नरहेको बताए । उनले गठबन्धनमा चुनावी तालमेल हुने बताउँदै भने, ‘सबै ठाउँमा सबै दलबीच तालमेल हुन्छ भन्ने छैन । यसमा नेपाली काँग्रेसमा भर पर्ने विषय हो ।’



प्रतिक्रिया दिनुहोस्