Logo

देउवालाई ओली-प्रचण्ड मिल्न सक्ने चिन्ता



काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न हतारिएका थिएनन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको जोडबलले प्रधानमन्त्री हुन पुगे ।

प्रचण्ड आफैले देउवालाई आफूले प्रधानमन्त्री बन्न भन्नुपरेको बताइसकेका छन् । उनले देउवालाई प्रधानमन्त्री बनाउन आफैले भूमिका खेलेको दोहोराउँदै भन्दै आएका छन् । देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्नुमा केपी शर्मा ओलीलाई कारण देखाएका छन् । एमाले र माओवादी एक बनाएका ओली र प्रचण्ड गत वर्ष अलग भएका थिए ।

पछिल्लो समय ओली र प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध छ । एकले अर्कामाथि कठोर बोली बोल्दै आएका छन् । तर, दुई नेताबीच संवादहीनताको आइसब्रेक भएको छ । उनीहरु विभिन्न माध्यमले संवादमा छन् ।

आउँदो वर्ष तीन तहको चुनाव नजिकिदै गर्दा एमाले र माओवादीका केही नेताहरु ओली र प्रचण्ड मिलाउन सक्रिय भएका छन् । माओवादी नेता वर्षमान पुनले एमालेसँग पनि तालमेल हुनसक्ने बताइसकेका छन् । प्रचण्डले आज बुटवलमा पत्रकारको प्रश्नमा एमालेसँग तालमेल र सहकार्यको ढोका बन्द नभएको बताए । उनले काँग्रेसले लखेट्न थालेमा जे पनि हुनसक्ने भन्दै ओलीसँग चुनावी तालमेलको सम्भावना औल्याए ।

काँग्रेसका पदाधिकारीहरु नै माओवादीसँग चुनावी तालमेल गर्न नहुने भन्दै बोलिरहेका छन् । तर, सभापति शेरबहादुर देउवाले त्यस्तो नबोल्न भन्दै आएका छन् । नेता रामचन्द्र पौडेल पनि तालमेलको पक्षमा छन् । तर, काँग्रेसभित्र तालमेलको विरोधमा आवाज बढ्दै गएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कम्युनिस्ट पार्टीहरु मिल्न सक्ने चिन्ता बढ्न थालेको छ । विशेषगरी एमाले र माओवादी मिल्ने अवस्था बनेमा काँग्रेसमाथि चुनौती बढ्न सक्छ । २०७४ को प्रदेश र प्रतिनिधि सभा चुनावमा एमाले र माओवादी तालमेल गरेर चुनाव लड्दा काँग्रेस खुम्चिएको थियो । उसले प्रत्यक्षतर्फ प्रतिनिधिसभाको सिट जितेको हिसाबले तेस्रो स्थान बनाएको थियो । समानुपातिकको मत परिणामले मात्र काँग्रेस माओवादीलाई केही सिटले उछिनेर दोस्रो बनेको थियो ।

विगतको अवस्थालाई बुझेका देउवालाई ओली र प्रचण्ड फेरि मिल्लान् भन्ने चिन्ता नभएको होइन । उनी त्यसैले पनि सत्ता गठबन्धनबीच चुनावी तालमेलको पक्षमा छन् । तर, माओवादीले तालमेलमा बढी सिट माग्न दबाब बढाउन थालेको छ । यसले काँग्रेस अप्ठ्यारोमा पर्न सक्छ । तालमेल गर्दा माओवादीको माग बढेमा काँग्रेसलाई आन्तरिक व्यवस्थापन मुश्किल पर्न सक्छ । यसकारण देउवा चिन्तित हुन थालेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्