काठमाडौं, ४ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक एक घण्टा बसेर स्थगित भएको छ ।
पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा बसेको पार्टीको १२औं पुर्ण बैठक दिउँसो २ बजेदेखि ३ बजेसम्म बसेर स्थगित भएको हो । अब बैठक शनिबार बस्ने भएको छ ।
आजको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको स्रोतले जनाएको छ । आजको बैठकमा ६९ जना केन्द्रीय सदस्यसहित ४ जना सल्लाहकारको उपस्थिति थियो ।
अब बस्ने बैठकले संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् ।
पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रिय समिति बैठकले ठोस धारणा बनाउनेछ ।