काठमाडौं, ४ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सशस्त्र क्रान्तिको तयारी गरिरहेको बताएका छन् । उनले आफ्नो दलको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ‘सशस्त्र क्रान्ति’ बाट लक्ष्य हासिल गर्ने दाबी गरेका हुन् । ‘सशस्त्र क्रान्ति’ को आवश्यकतालाई कसैले टार्न नसक्ने उनको तर्क छ ।
विप्लवको रातोखबरमा प्रकाशित लामो लेखमा पनि सशस्त्र गतिविधिको तयारीबारे उल्लेख छ । उनले प्रचण्ड र बाबुराम भट्टराईको आलोचना गर्दै लेखेका छन्, ‘हामी लड्दैछौं, तिमीहरुले दिएको धोका बेइमानी, साम्राज्यवाद र संसद्वादले दिएको धोका सबैलाई पचाएर सर्वहारा वर्ग र कम्युनिस्टहरुलाई विजयी तुल्याउने गरी ‘सशस्त्र क्रान्ति’को तयारी गर्दैछौं ।’
प्रचण्ड र बाबुरामको जीवनकालमै ‘सशस्त्र क्रान्ति’ गर्ने विप्लवलको दाबी छ । उनले लेखेका छन्, ‘तिमीहरु बाँच्दाबाँच्दै देख्न सक्नेछौं कि हामीले कस्तो क्रान्ति गर्नेछौं ।’ प्रचण्डले सशस्त्र गतिविधिको औचित्य अहिले सकिएको र आफ्नो नक्कल नगर्न विप्लवलाई भनेको र बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त त्यागेर कम्युनिस्ट दलहरुको चर्को आलोचना गरिरहँदा लेखमार्फत् कडा आलोचना गरिएको हो ।
विप्लवले नेपालमा सशस्त्र क्रान्तिको आवश्यकता नसकिएको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली क्रान्तिमा बल प्रयोगको आवश्यकता सकिएको नभई प्रचण्डको क्रान्तिकारी विचार र सोच सकिएको हो ।’
प्रचण्डले विगतमा सशस्त्र गतिविधिको विरोध गर्नेलाई विभिन्न आरोप लगाउने गरेको समेत विप्लवले खुलासा गरेका छन् । उनले लेखेका छन्, जनयुद्धका समयमा सशस्त्र संघर्षको विरोध गर्नेहरु प्रचण्डको दृष्टिकोणमा साम्राज्यवादीका पाले र प्रतिक्रियावादी तत्वहरु हुन्थे ।
प्रचण्ड र बाबुरामले क्रान्तिप्रति बेइमानी गरेको विप्लवको आरोप छ । उनले लेखेका छन्, ‘प्रचण्डहरुले जनयुद्धको नक्कल गरेर क्रान्ति हुँदैन भन्ने तर्क गर्नु हददर्जाको बेइमानी मात्र हो ।’
प्रचण्डले देशभित्र युद्ध लडाएर भारतमा वार्ता गरेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘हामी प्रचण्डको जस्तो नेपालमा युद्ध लडाएर भारतमा वार्ता गर्ने नक्कल त गरेका छैनौं नि !’-File Photo