Logo

माओवादी आफ्नै बलबुतामा चुनाव लडेर पहिलो शक्ति बन्ने प्रचण्डको दाबी



पोखरा, ६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नै बलबुतामा चुनाव लडेर पहिलो शक्ति बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनको बैशाखी टेकेर नभई आफ्नै शक्ति, संगठन र मुद्धाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको बताए ।

माओवादी चुनावमा डराएर गठबन्धन गर्न खोजिरहेको प्रश्नमा प्रचण्डले भने,“ देशव्यापीरुपमा माओवादीप्रति जनमत बढ्दै गएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ माओवादी जाने होइन ।” माओवादी पहिलो शक्ति बन्ने प्रचण्डले दाबी गरे ।

केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको बताए । प्रचण्डले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बबताए । उनले भने, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ । निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपील गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्