Logo

एमालेलाई एक्लै जित्न सकिन्न भन्ने गठबन्धनको निष्कर्ष सही होः युवराज ज्ञवाली



काठमाडौं, ७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिवंगत गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस हो । उहाँले राणा शासनविरोधी, पञ्चायतविरोधी र लोकतान्त्रिक गणतन्त्र र शान्तिप्रक्रियामा समेतको नेतृत्व गर्नुभयो । लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदानबाट प्रेरणा लिनु आवश्यक छ ।”
शान्तिप्रक्रियाको हस्ताक्षरकर्ता कोइराला बिते पनि बाँकी अधुरा काम पूरा गर्नुपर्ने उनले औंल्याए । ज्ञवालीले थपे,” शान्तिप्रक्रियाका कतिपय काम बाँकी छन् । यसका हस्ताक्षरकर्ता प्रचण्डजीको पार्टी अहिले पनि सरकारमा छ । बाँकी विषय उहाँसँगै सोझिन्छ । कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोच्नुपर्छ । अब लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाएर र बहुमतको स्थिर सरकार बनाएर मुलुकलाई समृद्धितिर अघि बढाउनुपर्छ ।”
आगामी चुनावमा एमालेलाई सिध्याउने गल्ती गरेका नेताहरु सजायको भागिदार भएको पनि उनले औंल्याए । ज्ञवालीले भने, “विगतमा अदालतले नै पार्टी फुटाइदिने र परमादेशबाट सरकार बदलिदिने अस्थिरताको खेल रहिरह्यो । तर जनता नेता जता लाग्छन्, त्यतै लाग्दैनन् । एमालेलाई सिध्याउन लागेको गल्तीको सजाय दिन्छन् ।”
ज्ञवालीले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत कुनै पनि दलसँग नभएको दाबी गरे । उनले भने, ए”मालेलाई एक्लै जित्न सकिन्न भन्ने गठबन्धनको निष्कर्ष सही हो । नेपाली कांग्रेसले पनि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्दैन । किनभने एमालेको प्रभाव व्यापक छ । संसद्मा ठूलो पार्टी हो । स्थानीय तहमा ठूलो पार्टी हो । त्यसैले सत्ता गठबन्धन आत्तिएको छ । राष्ट्रिय स्तरका कुनै पनि दलसँग हाम्रो तालमेल हुँदैन । स्थानीय तहमा एमालेलाई उपलब्धि हुने गरी केन्द्रको अनुमति लिएर गर्न छिटपुट तालमेल हुन सक्छ ।”
एमाले अध्यक्ष केपी ओली निर्वाचन आयोगविरुद्ध किन खनिनुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “हामी प्रतिपक्ष हौं । निर्वाचन आयोगका कमीकमजोरी औंल्याउनु हाम्रो धर्म हो ।”



प्रतिक्रिया दिनुहोस्