Logo

गठबन्धनका लागि कांग्रेस र एमाले दुवैसँग समदूरीमा छौंः अनिल झा



काठमाडौं, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनका लागि समदूरीमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “गठबन्धन भनेको गिभ एन्ड टेक हो । । वन साइडेड लभ हुँदैन । गठबन्धनका लागि पनि अर्को पक्ष तयार हुनुपर्छ । हामीले केपी ओली, शेरबहादुर देउवा वा उपेन्द्र यादवजीसँग कुरा गर्न सक्छौं । तर हाम्रो प्राथमिकता कांग्रेस र एमाले नै हुन् । कांग्रेस र एमालेसँग समदूरीमा रहेर कुराकानी गरिरहेका छौं । गठबन्धन जोसँग पनि हुन सक्छ ।”

नेता झाले लोसपा एक्लै लड्न पनि तयार रहेको बताए । उनले भने, “राजनीतिमा कटाक्ष चलिरहन्छ । अरुलाई राम्रो भनेर आफ्नो जनमत बढाउन सकिँदैन । तर हल्ला बोल्नु आवश्यक छैन । विगतको स्थानीय तहको निर्वाचनमा हाम्रो कसैसँग गठबन्धन भएको थिएन । प्रदेश र संघमा मात्र संघीय समाजवादी पार्टीसँग भएको हो ।”
लोसपा त मधेस प्रदेशमा कमजोर छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “त्यसरी नभनौं न ऋषिजी । हामीले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिसाएर उपेन्द्रीजीलाई रेस्क्यु गर्न लागेका थियौं । उहाँले त्यो कार्यक्रम सक्सेस हुन दिनुभएन र जसपा नचलेपछि कानुनबमोजिम लोसपा बन्यो । उपेन्द्रजी डिजाइनमा काम गरिरहनुभएको थियो । हाम्रा नेता राजेन्द्र महतो, महन्थ ठाकुर सेन्टिमेन्टमा काम गरिरहनुभएको थियो । उपेन्द्रजीले राजपाको छाता चिह्न कब्जा गरिहाल्नुभयो । पार्टी विभाजन हुने स्थितिमा हामीले लोसपा बनायौं । यो गजेन्द्रबाबुको लिगेसी बोकेको पार्टी हो । लोसपा राजपाकै बाध्यात्मक रुप हो ।”
लोसपा नेता झाले शुक्रबारबाट हुने चिनियाँ विदेशमन्त्री वाङको भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने बताए । उनले भने, “चीन हाम्रो छिमेकी हो । उसको दूत नेपाल आउनु आश्चर्यजनक होइन । तर कुरा के हो भने हाम्रो सम्बन्ध साहु र ऋणीजस्तो हुनु भएन । नेपालले अब सकेसम्म अनुदान लिने हो, नभए सस्तो ऋण । ऋण हो भने अब सोच्नुपर्छ । अनुदान र नफर्काउने हो भने लिए फरक पर्दैन । चीनलाई अब अघोषित नाकाबन्दी खोल्न लगाउनुपर्छ । छिमेकले सताए नेपाली जनताले दुःख पाउँछन् ।”



प्रतिक्रिया दिनुहोस्