Logo

माथिबाट तालमेल थोपर्नु गलत होः जीवन परियार



काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नुनपर्ने भावना देशभरिका कार्यकर्तामा पाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा केन्द्रीय समितिबाट औपचारिक निर्णय भएको छैन । चैत ११ को केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुन्छ । तालमेल गर्नैहुन्न भन्ने पनि अतिवादी विचार हो, गर्नैपर्छ भन्ने पनि अतिवादी विचार हो ।”
पार्टीभित्र एकमत हुन सकेन भने त्यसको ठूलो असर गर्न सक्ने उनले औंल्याए । परियारले भने, “कुनै दलसँग तालमेल गरिरहन आवश्यक छैन र माथिबाट तालमेल थोपर्ने कुरा गलत हो भन्ने देशभरिका साथीहरुको भावना छ । तथापि कतिपय ठाउँमा तालमेल गर्ने हो भने पनि पार्टीभित्र छलफल र बहस गरेर अघि बढ्नु हितकर हुन्छ । पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा औपचारिक प्रस्ताव राखेर निर्णय गरेर जाँदा नै उचित हुन्छ । नेपाली कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ।”
विगतको तालमेल फलदायी हुन नसकेको उनको टिप्पणी छ । परियारले भने, “२०७४ को स्थानीय निर्वाचनमा हामीले भरतपुरमा माओवादीलाई जितायौं, पोखरामा हामीले जित्न सकेनौं । त्यसैले सोचीविचारीकन निर्णयमा पुग्ने हो । कसलाई छाड्नुपर्छ, कसलाई छाड्नुपर्दैन, केका आधारमा छाड्ने भन्ने कुरा स्थानीय तहलाई नै जिम्मा दिनुपर्छ ।”
नेता परियारले चिनियाँ विदेशमन्त्री वाङसँग नेपालले लामो समयदेखि उत्तरतिरका नाका बन्द हुनुको कारण स्पष्ट माग्नुपर्ने पनि बताए । उनले थपे, “चिनियाँ विदेशमन्त्रीको भ्रमण स्वागतयोग्य छ । लामो समयदेखि उत्तरतिरका नाका बन्द रहँदा जनता आत्तिएका छन्, व्यवसायी आत्तिएका छन् । के कति कारणले नाका बन्द भएका हुन् ? त्यसबारे चीनलाई स्पष्टसँग सोध्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्