लमजुङ, ८ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चर्दीखोला मोटरेबल पुलको शिलान्यास गरेका छन् ।
देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उनको भनाइ छ ।
लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबलको पुलको आज यहाँ शिलान्यास गर्दै उनले गाउँगाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने धारणा व्यक्त गरे ।
एमसिसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि विस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडलले बताए । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताए । नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो ।
ब्यास मार्गमा पर्ने सो पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताए । उनले भने, “२० मिटर लम्बाइ र सात मिटर चौडाइ रहने पुल नगरपालिकाको रु दुई करोड २६ लाख लागतमा सम्पन्न हुनेछ ।” तस्बिरः जनक श्रेष्ठ÷रासस