एजेन्सी, १० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा रहेका खानले जस्तोसुकै परिस्थितिको सामना गर्ने तर राजीनामा नदिने बताएका हुन् ।
पाकिस्तानका विपक्षी दलले खानको राजीनामा मागिरहेका छन् । उनलाई त्यहाँको शक्तिशाली सेनाको पनि साथ नभएको बताइएको छ । तर, खानले सेनाको साथ नभएको विषय भ्रम मात्र रहेको जवाफ दिएका छन् ।
शुक्रबारबाट खानविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने भएको छ । खानका पार्टीका २० सांसदले विद्रोह गरेका छन् । उनीहरुले खानको राजीनामा माग्दै विपक्षी दलमा जोडिने चेतावनी दिएका छन् ।
पूर्व क्रिकेट कप्तान इमरान खानले भने आफ्ना दलका सांसदलाई पैसाले खरिद गरिएको टिप्पणी गरेका छन् । उनले पैसा खर्च गरेर सत्ता नजोगाउने बरु विपक्षीमा बस्ने बताएका छन् ।-File Photo