लाप्राक, चैत १२। हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ ।
तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ । २०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ ।
निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् । प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ । काठ पनि कुहिन थालेको स्थानीय मारसिंह गुरुङ बताउन्छन् । “बरन्डामा पानीले भिजेर फलामका खम्बा सबै खाइ (खिया) लागेको छ । काठ पनि पानीले भिजेर कुहिन थालेको छ,’’ उनले भने “न ती खम्बामा प्राइमर (खिया र पानीबाट बचाउने रङको पहिलो पत्र) लगाइदिनुभयो, न त हामीलाई नै लगाउन भन्नुभयो । त्यो नहुँदा एक वर्षमै घर काम नलाग्ने भइसके ।”
कुल ५७३ घरमध्ये करिब आधाजसोमा काठको खम्बा हालिएको छ भने आधा घरमा फलाम प्रयोग गरिएको छ । सम्झौताअनुसार काठ उपलब्ध नभएपछि बाँकी घरमा फलाम प्रयोग गरिएको वडाध्यक्ष राज गुरुङले बताए । ग्रामीण भेगका भुइँघरमा पनि प्लास्टिकका झ्याल–ढोका राखिदिँदा स्थानीयवासीले दुःख पाएका छन् । कतिपयले फेरेर काठका झ्याल–ढोका हालेका छन्, नसक्नेलाई चोरको डर छ ।
“राति सुत्दा पनि झ्याल–ढोका फोडेर चोर आउँछ कि भनेर डर लाग्छ,” घर नम्बर एल–३७ की रीतिमाया गुरुङले भनिन् । जस्ता पनि कमसल रहेको उनको अनुभव छ । “कसैले एउटा सानो ढुङ्गाले हान्यो भने पनि फुट्ने रैछ,’’ उनले भनिन् “फलाम खिया लाइसक्यो । राम्रो भए पनि नभए पनि यहीँ बस्नुप(यो । अन्त जाउँ ठाउँ छैन ।”
अधिकांशले पुरानै ठाउँमा आफैँले घर बनाएका छन् । लाप्राकको पुरानो गाउँमा घर बनाउन नसक्ने र जग्गा–जमिन नभएका करिब २० घरपरिवार मात्र अहिले नयाँ बस्तीमा सरेका छन् । तीमध्ये पनि स्थायी रूपले बस्ने १२÷१३ घरभन्दा बढी नरहेको उनको भनाई छ ।
हिउँदमा हिउँ परेर सबै घर ढाकिन्छन् । ढल निकास नबनाइएकाले बर्खामा पनि घरघरै पानी आउने समस्या रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।