Logo

गठबन्धन गर्नैहुन्न भन्ने हठ कांग्रेसको हितमा छैन: श्याम घिमिरे



काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले चुनावपछि भन्दा चुनाव अघि गठबन्धन गर्नु उपयुक्त हुने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “संसदीय पद्धतिमा गठबन्धन गर्नु नौलो अभ्यास होइन । हामी गठबन्धनकै सरकारको नेतृत्व गरिरहेका छौं । संवैधानिक रुपमा पनि गठबन्धनको विकल्प छैन । ४० प्रतिशत सिट समानुपातिक भएकाले एउटै पार्टीको बहुमत आउने स्थिति छैन । त्यसैले गठबन्धन त गर्नैपर्छ निर्वाचन अघि गरौं या पछि गरौं । पछि पनि गर्नै छ भने अहिले नै किन नगर्ने ?”
भइरहेको गठबन्धनलाई चट्टै छाडेर अघि बढ्नु पनि अव्यावहारिक हुने पनि घिमिरेको दाबी छ । उनले भने, “परिस्थिति कति तरल छ भने हामीसँग गठबन्धन गरेका दहरु जोसँग पनि मिल्न सक्छन् । हामीसँग सहकार्य नगरे एमालेसँग गर्न सक्छन् । त्यसैले गठबन्धन गर्नुहुन्न भन्ने हठ कांग्रेसको हितमा छैन । त्यसका लागि गठबन्धनको सूत्र, फर्मुला वा मोडालिटी बनाएर अघि बढ्नुपर्ने हुन्छ । अहिले जहाँ जितेको छ, त्यसलाई स्वीकार्नुपर्ने हुन्छ । गठबन्धन दल हारेको ठाउँमा भागबन्डा होला । गठबन्धन तीनै तहमा हुन्छ । सबभन्दा गाह्रो स्थानीय तहमा हो । यो प्रादेशिक र संसदीय निर्वाचनको तयारी हो ।”

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा संसदीय बोर्ड र गठबन्धनका बारेमा निर्णय हुने पनि उनले बताए । घिमिरेले थपे, “आज पार्टीले गठबन्धनका विषयमा पनि पार्टीले निर्णय लिन्छ । कार्यसम्पादन समितिले गरेका कुरा अनुमोदन गर्छ र संसदीय बोर्ड गठन हुन्छ । त्यसमा विधानअनुसार १४ पदाधिकारी र सभापतिले प्रस्ताव गरेका ११ जना हुन्छन् । पार्टीमा पूर्व पदाधिकारीको संख्या बढी भएकाले सभापतिले समावेशिता, भूगोल आदिको सन्तुलन कसरी मिलाउनुहुन्छ, गठन भएपछि नै थाहा होला ।”
नेपालले वैदेशिक ऋणभन्दा अनुदानमा प्राथमिकता दिनुपर्ने पनि उनले बताए । कांग्रेस नेता घिमिरेले थपे, “ऋणको भार धेरै हुँदा साँवा ब्याज भुक्तानी गर्न समस्या छ । बीआरआई ऋणको ढाँचामा छ । नेपाल सरकारको प्राथमिकता ऋणमा होइन, अनुदानमा हुनुपर्छ ।”

 

 



प्रतिक्रिया दिनुहोस्