Logo

इमरान खानको पद धरापमा



एजेन्सी, १५ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ । उनीविरुद्ध सोमबार अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।

पाकिस्तानका सभामुख कसिम सुरीले अविश्वासको प्रस्ताव छलफलका लागि अगाडि बढाएको जनाइसकेका छन् ।

खानलाई सत्तामा टिकिराख्न संसदमा १७२ सांसदको समर्थन आवश्यक पर्छ । तर, उनकै दलका एक दर्जन सांसदले विद्रोह गरेकाले पदमा टिक्न मुश्किल छ ।

इमरान खानविरुद्ध विपक्षीहरु एकजुट भएका छन् । पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष विलवाल भुट्टो कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले खानलाई विदेशीको इशारामा चल्ने गरेको आरोप लगाएका छन् । खानले पनि आफूलाई हटाउन विदेशी शक्ति लागेको आरोप लगाएका छन् ।

पाकिस्तानको अर्को विपक्षी दल मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरयम नवाजले पनि इमरान खानविरुद्ध अभियान नै चलाएकी छिन् । मरयम पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । उनले खानलाई सत्ताबाट हटाउन पाकिस्तानी जनता अगाडि बढिसकेको बताउँदै आएकी छिन् । खानलाई बचाउन कोही पनि नआउने टिप्पणी गरेकी छिन् ।

इमरान खानलाई पाकिस्तानको सेनाले पनि साथ छाडेको छ । उनले पछिल्लो समय चीनसँग निकटता बढाएका थिए । यो भूमिकाबाट पश्चिमाहरु खानसँग चिढिएका थिए ।



प्रतिक्रिया दिनुहोस्