Logo

तालिवानले विरोधीमाथि बदला लिन थाल्यो



एजेन्सी, १५ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता कब्जा गरेको तालिवानको कठोर शासनले उक्त देशलाई फेरि असफलतातर्फ धकेलेको छ । अमेरिकी सेनाले अफगानिस्तान छाड्नु अघि नै त्यहाँ दक्ष जनशक्ति विदेश पलायन भए । तालिवानको विगत शासन देखेभोगेकाहरु धेरै पलायन भए ।

तालिवानले महिलालाई ६ कक्षा माथि शिक्षाबाट वञ्चित गरिदिएको छ । महिलाका लागि विद्यालयहरु खोल्न दिएको छैन । महिलालाई अध्यारो युगमा धकेल्ने गतिविधि गरेको छ । विरोधीमाथि कोरा हान्ने र यातना दिने गतिविधि बढाएको छ ।

तालिवानले आफू सत्तामा नआउँदा शासनमा रहेका शक्तिशाली व्यक्तिहरुमाथि बदला लिन थालेको छ । उनीहरुलाई खोजी खोजी पक्राऊ गर्ने, यातना दिने र हत्या समेत गर्ने गतिविधि गरिरहेको छ ।

गत हप्ता तालिवानले पूर्व प्रहरी उपप्रमुख मोहम्मद चरगन्ड जदरानलाई खोस्ट प्रान्तबाट पक्राउ गरेको छ । उनलाई डो मान्डा जिल्लाबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कारबाट घर जाँदै गर्दा उनी पक्राउ परेका थिए । तालिवानले विगतमा गैरतालिवान सरकार हुँदा शक्तिमा रहेकाहरुलाई निगरानीमा राखिरहेको खबर आएकै केही दिनमा पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्