Logo

कांग्रेसको कुखुराको ‍न चीलको चाल भयो, शक्ति छ भने एमालेसँग एक्लै लडोस् नः कर्ण थापा



काठमाडौं, १६ चैत । नेकपा एमालेका नेता कर्ण थापाले कांग्रेस सभापति शेरबहादुर देउवाले नै आफ्नो पार्टी कमजोर भएको स्वीकारेर गठबन्धन गर्न लागेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “उद्देश्य र विचार नमिल्ने गठबन्धन किन चाहियो ? केही पार्टी हारगुहार गरेर कांग्रेससँग टाँसिन चाहन्छन् । तर कांग्रेस एमालेसँग लड्न सक्षम नरहेको कुरा त शेरबहादुर देउवाले नै स्वीकार गरिसक्नुभएको छ । अहिले कांग्रेसको न कुखुराको चाल छ, न चीलको चाल छ । गठबन्धनलाई पराजित गर्न नेकपा एमालेले सक्षम छ ।”
गठबन्धन लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको पनि उनले आरोप लगाए । थापाले थपे, “जनताले धेरै पार्टी चाहेका छैनन् । अहिले मुलुकमा दुइटा दल छन् । एउटा धनीमानी र पुँजीपतिको पार्टी कांग्रेस, अर्को श्रमजीवी र मेहनतकस जनताको पार्टी एमाले । जनताले चाहेको परिवर्तन हो, खुसीयाली हो । जनताको चाहनासँग एमाले एकाकार छ । हामी गठबन्धनको पक्षमा छैनौं । जित्नेलाई रोक्ने गठबन्धन लोकतन्त्रविरुद्धको षड्यन्त्र हो ।”
उनले देखाउनका लागि भ्यू टावर बनाउनु गलत भएको पनि बताए । उनले भने, “विकास देखाउनका लागि गर्ने होइन, सोची विचारीकन स्थानीय आवश्यकता अनुसार गर्नुपर्छ । स्थानीय तहको बजेटको दुरुपयोग हुनुहुँदैन । जनताले त्यसको प्रतिफल पाउनुपर्छ ।” साथै उनले नेत्रविक्रम चन्द विप्लव समूहले एमाले जस्तो प्रगतिशील पार्टीलाई देश बनाउने सन्दर्भमा साथ दिनु उचित हुने पनि औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्